परीक्षण गर्दा गर्दै सकिन्छ किट, सीमाबाटै फुत्किन्छन् संक्रमित
2021/04/13, 5:53
 
corona

मंगलबार भारतबाट आइरहेका नेपालीहरूको त्रिनगर नाकामा एन्टिजेन परीक्षण गर्दा गर्दै किट सकियो । १२ बजेसम्म १ सय ५४ जना नेपालीको एन्टिजेन परीक्षण गरिएको थियो । ती मध्ये १३ जनामा संक्रमण पुष्टि भयो ।

किट सकिएपछि भारतको हटस्पटबाटै आएकाहरूको पनि परीक्षण भएन । ‘परीक्षण गर्दागर्दै किट सकियो,’ हेल्थ डेस्कका गणेश साउदले भने, ‘अब किट नआएसम्म परीक्षण हुँदैन ।’ अहिले प्रदेश आपूर्ति केन्द्रमा पनि किट सकिएको छ ।

पर्याप्त किट नहुँदा भारतबाट ठूलो संख्यामा आएका सबैको परीक्षण गर्न नसकिएको उनी बताउँछन् । सबैको परीक्षण नहुँदा संक्रमितहरू सीमाबाटै फुत्कने गरेको उनको भनाइ छ ।

‘अहिले दैनिक ५० जना कोरोना संक्रमित भेटिएका छन् सबैको परीक्षण भए सय जनासम्म भेटिन्छन्,’ उनी भन्छन्, ‘पर्याप्त किट नहुँदा संक्रमितको पहिचानमा समस्या भइरहेको छ ।’

उनले सीमा क्षेत्रबाटै आएका सबैको परीक्षण नहुँदा संक्रमित समुदायमा पुग्ने गरेको बताए । ‘परीक्षणको दायरा कम हुँदा संक्रमितहरू समुदायमा पुगेका हुन सक्छन्,’ साउदले भने, ‘यसले समुदायमा संक्रमण फैलने खतरा बढेको छ ।’

चैत्र ३ गते पछि त्रिनगर नाकामा एन्टिजेन परीक्षण सुरु गरिएको थियो । तर, ठूलो संख्यामा परीक्षण नहुँदा संक्रमितहरूको पहिचान हुन नसकेको हो ।

त्रिनगर हेल्थ डेस्कका अनुसार चैत्र ३ गते भारतबाट ३० हजार बढी नेपाली फर्किएका छन् । उनीहरू मध्ये ८ हजार ८० को एन्टिजेन परीक्षण भएको छ । ती मध्ये सोमबारसम्म ४ सय ६७ जनामा संक्रमण पुष्टि भएको हेल्थ डेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।

बढ्दै संक्रमण
भारतमा कोरोना संक्रमणको अर्काे लहर सुरु भएपछि त्यहाँबाट नेपाल आउनेहरूमा पनि अहिले जोखिम बढेको छ । केही दिनयता त्रिनगर नाकाबाट नेपाल भित्रनेहरूमा कोरोना संक्रमण बढिरहेको छ । तर, उनीहरू मध्ये आधाको मात्रै परीक्षण भइरहेको छ ।
भारतको मुम्बई, महाराष्ट्र, पुने, गुजरात लगायतका ठाउँबाट आउनेहरूमा बढी संक्रमण देखिएको छ ।

हेल्थ डेस्कका अनुसार पछिल्लो एक सातामा ७ हजार ३ सय ५२ जना नेपाली भारतबाट आएका छन् । ती मध्ये ३ हजार ३ सय ९८ जनाको मात्रै परीक्षण गरिएको छ । परीक्षण भएका मध्ये पछिल्लो एक सातमा २ सय ७८ जनामा संक्रमण पुष्टि भएको हो ।

कैलालीको धनगढीमा १ सय ५० शय्याको संक्रमितहरूका लागि आइसोलेसन तयार गरिएको छ । तर, त्यहाँ पुग्न नपाउँदै संक्रमितहरूलाई घर पठाइने गरेको छ ।

‘हामीले परिवारका सदस्यहरूको सहमतिमा छुट्टै यातायातको व्यवस्था गरे घर पठाउने गरेका छौँ,’ जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लाल बहादुर धामीले भने, ‘घरमै सुरक्षित बस्न आग्रह गर्छौं। ’