कञ्चनपुरको वनहरामा तरकारी वितरण केन्द्र सञ्चालन गरिदै
2020/06/04, 6:02
 
tarkary

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरामा तरकारी संकलन तथा वितरण केन्द्र सञ्चालनमा आउने भएको छ । व्यावसायिक तरकारीखेतीमा संलग्न किसानलाई बजारको अभाव हुन नदिनका लागि नगरपालिकाले तरकारी संकलन तथा वितरण केन्द्र सञ्चालनमा ल्याउन लागेको हो । वनहरा क्षेत्रका तीन दर्जनभन्दा बढी किसान व्यावसायिक तरकारीखेतीमा संलग्न रहेका छन् ।

तरकारी संकलन केन्द्र नहुँदा किसानले बजारमा तरकारी बिक्री गर्न निकै समस्या खेप्दै आएका छन् । तरकारीखेतीमा लागेका किसानको तरकारी एक ठाउँमा जम्मा गरी बिक्री गर्दा बजार मूल्यसमेत सहजरुपमा पाउन सकिने र तरकारी गाउँ गाउँ पुगाएर बेच्ने झन्झटसमेत नहुने अमरसिंह रानाले जानकारी दिए । वनहराका किसानले बाह्रै महिना तरकारीखेती गरी जीविका चलाउँदै आएका छन् ।

धेरै परिवारले बगरखेतीसमेत गर्दै आएका छन् । तरकारीखेतीमा अधिकांश पुनःस्थापन गरिएका मुक्तकमैया परिवारका व्यक्ति संलग्न रहेका छन् । तरकारी संकलन केन्द्रको अभावमा व्यापारीले भनेकै मूल्यमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ पुनाराम चौधरीले भने, ‘बगरखेतीमा उत्पादन भएका लौका, काँक्रा र तरभुजा सडक छेउ बसेर र गाउँ गाउँ पुगाएर बेच्दै आएका छौँ ।’

संकलन केन्द्र स्थापना हुन थालेपछि निकै खुशी भएको उनको भनाइ छ । तीन लाख रुपैयाँको लागतमा नगरपालिकाले सो संकलन केन्द्रका भौतिक संरचना निर्माणका लागि कार्य अगाडि बढाएको छ । नगर प्रमुख कर्णबहादुर हमालले केन्द्रको शिलान्यास गर्दै उचित मूल्यमा तरकारी बिक्री गर्नका लागि संकलन केन्द्र निर्माणको कार्य अगाडि बढाइएको बताए ।

तरकारी संकलन तथा वितरण केन्द्रसँगै तीन बिघा जग्गामा हाटबजार लगाउनका लागिसमेत नगरपालिकाले योजना अघि सारेको छ । हाटबजारका संरचना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ । तरकारी खेतीमा कृष्णपुर अन्य नगरपालिका भन्दा अग्रणी रहेको छ ।