धनगढी : कोरोना भाइरसको जोखिम बढ्दै गएपनि कैलालीको धनगढी उपमहानगरपालिकाले तत्काल विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित कैलालीसहित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल आजदेखि नै बन्द गर्न आग्रह गरेपनि धनगढीमा विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको हो । उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर चन्दले विद्यालय बन्द गर्न केन्द्रबाट लिखित रुपमा कुनै निर्देशन नआएको र सो विषयमा छलफल पनि नभएको बताए । उनले भने, ‘केन्द्रबाट कुनै परिपत्र आएको छैन् । अहिले नै विद्यालय बन्द गर्ने विषयमा कुनै निर्णयमा पुगेका छैनौ ।’ शिक्षा महाशाखाका उपसचिव नरेन्द्रबहादुर खातीले पनि विद्यालय बन्द गर्ने विषयमा छलफल नभएको बताए । उनले विपद् व्यवस्थापनसम्वन्धीको बैठकमा भने सो विषयमा छलफल गर्ने बताए ।
बिहिवार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कैलालीसहितका १४ जिल्लाका सहरी क्षेत्रमा विद्यालय बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउने बताएका थिए । अति प्रभावित १४ जिल्लामा कैलालीसहित काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन् ।