सीमा नाकामा रोजगारीका लागि भारत गएका नेपालीको लर्काे कायमै
2021/04/16, 10:08
 
corona

लामो समय कोरोना महामारीले सुस्ताएको अर्थतन्त्र उकासिन नपाउँदै कोरोनाको दोस्रो लहर सुरु भएको छ । कोरोना महामारीको दोस्रो लहर भारतलगायत अन्य मुलुकमा प्रभाव बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना महामारीको दोस्रो लहरको प्रभाव बढेसँगै रोजगारीका लागि भारत गएका नेपाली नागरिक स्वदेश फर्किन थालेका छन् । भारतको विभिन्न सहरमा कोरोनाको दोस्रो लहरको बढ्दो प्रभाव भएपछि पश्चिमी सीमानाका गड्डाचौकीमा नेपाल प्रवेश गर्ने नेपाली नागरिक बढेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि फागुन २४ गतेपछि हालसम्म गड्डाचौकी नाका भएर नेपाल प्रवेश गर्ने नेपालीको संख्या १९ हजार ५ सय ९२ रहेको छ । स्वास्थ्य कार्यालयले कोरोना महामारीको दोस्रो लहरमा कोरोनामा संक्रमण दर तीव्र भएको भन्दै सचेतना अपनाउन आग्रह गरेको छ ।

लामो समय कोरोना महामारीका कारण बन्द रहेको सीमाक्षेत्र सञ्चालन भएको केही समय नबित्दै कोरोनाको दोस्रो लहर सुरु भएपछि चौतर्फी समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए । सुदूरपश्चिमका पहाडी जिल्लामा विसु पर्वलाई दसैं तिहारभन्दा बढी महत्वका साथ मनाउने गरिन्छ ।

सिस्नु खेल्ने परम्परा रहेको विसुमा सिस्नु पानी नलगाए वर्षभरिमा रोगव्याध लाग्ने मान्यता अनुरुप साली भेना तथा भाउजू र देवर खोज्दै सिस्नो लगाउने चलन रहेको छ । साली–भेना तथा देवर भाउजू नभएकाले बिहानै नजिकैको धारा वा पँधेरीमा गएर सिस्नु पानीमा चोप्दै आफैँ लगाउने संस्कृति छ । स्वास्थ्य कार्यालयका प्रमुख सुनारले सुदूरपश्चिममा मनाइने विसु पर्व तथा नयाँ वर्षको अवसर पारेर दैनिक रूपमा हजारदेखि १५ सय जना मानिस भारतबाट आउने क्रम रहेको र नाका क्षेत्रमा नै सामान्य स्वास्थ्य चेकजाँच गर्ने गरेको जानकारी दिए ।

“कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने नागरिक प्रत्येक दिन बढ्दै गएका छन्, हिजो आजमात्रै दैनिक रूपमा १५ सयका दरले मानिसहरू आउने क्रम बढ्दै गएको छ ।” स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले भने, “दैनिक रूपमा सीमानाका क्षेत्रमा नेपाल प्रवेश गर्ने नागरिकको डाटा संकलन गर्ने तथा सामान्य स्वास्थ्य चेकजाँच गर्ने कार्य गरिरहेको अवस्था छ, यस्तै शंकास्पद व्यक्तिहरूलाई भने एन्टिजिन टेस्ट गर्ने व्यवस्था मिलाइएको अवस्था छ ।”

भारतबाट नेपाल आउने नागरिकमाथि पनि भारतको बढी संक्रमित स्थानबाट स्वदेश आएको नेपाली नागरिकलाई पनि सीमानाका क्षेत्रमा एन्टिजिन टेस्ट गरिने व्यवस्था गरिएको छ । एन्टिजिन टेस्टमार्फत कोरोना पोजेटिभ देखिएका नागरिकलाई उचित स्वास्थ्य मापदण्ड अनुसार एम्बुलेन्समा ल्याएर महाकाली अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिरहेको स्वास्थ्य कार्यालय प्रमुख सुनारले बताए ।

सीमानाकामा आवतजावत गर्ने क्रम बढेपछि भने कोरोना महामारीको जोखिम पनि बढेको छ । जिल्लामा हालसम्म १ हजार ८ सय ७२ जनालाई कोरोना पोजेटिभ देखिएको छ । जसमध्ये ६० जना एन्टिजिन टेस्ट मार्फत कोरोना पोजेटिभ छन् भने ३३ जना पीसीआर टेस्टमार्फत ३३ जना कोरोना पोजेटिभ छन् ।

हालसम्म कोरोना संक्रमितमध्ये १५ जनाको भने मृत्यु भइसकेको अवस्था छ । यस्तै कोरोना संक्रमितमध्ये २७ जना भने महाकाली अस्पतालमा आइसोलेसनमा उपचारत रहेका छन् भने बाँकी संक्रमित होम आइसोलेसनमा छन् ।