सुदूरपश्चिम प्रदेश: ओली पक्षको अनुपस्थितिमा एमाले संसदीय दलको विधान पारित
2021/04/16, 10:30
 
rajniti

नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले विधान पास गरेको छ । विधान पास गर्दा केपी ओली पक्षका सांसदहरुको उपस्थिति थिएन । खनाल–नेपाल पक्षका २० सांसदहरुको उपस्थितिमा नेकपा एमाले संसदीय दलको कार्यालयमा ‘नेकपा एमाले संसदीय दलको विधान २०७८’ पास गरिएको हो ।


नेकपा एमालेका संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रस्तुत गरेको सो विधानलाई नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले दिएको सुझावसहित पास गरिएको संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले जानकारी दिए । विधानसँगै सुदूरपश्चिममा बढदै गरेको कोरोना रोकथाम र उपायका बारेमा समेत छलफल गरिएको प्रदेशसभा सदस्य दीर्घ सोडारीले बताए ।

यता केपी पक्षका सांसदहरुले भने आफूहरुलाई जानकारी नै नदिइ एकलौटी रुपमा विधान पास गर्नु गलत भएको बताए । ओली पक्षका सांसद एवम् जिल्ला अध्यक्ष रतन थापाले विधान पास गरेको प्रति आक्रोश व्यक्त गरे । उनले भने, ‘हामीहरूको उपस्थितिबिना पास गरिएको विधानको कुनै औचित्य छैन ।’ ओली पक्षका सांसद पठान सिह बोहोराले यो अनुशासनविपरित काम भएको बताए ।  सुदूरपश्चिम प्रदेश सरकारमा केपी पक्षका ५ जना सांसद छन् ।