डोटीमा कुहिएको अवस्थामा महिलाको शव फेला
2021/04/21, 10:54
 
death

डोटीमा एक महिलाको शव फेला परेको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । 

सडेको अवस्थामा अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । 

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ ।

उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।