सुदूरपश्चिम प्रदेशमा पछिल्लो एक सातामा दुई हजार ३९७ जना व्यक्ति कोरोना सङ्क्रमित हुँदा सोही अवधिमा जम्मा १५० जना संक्रमितमात्रै निको भएका छन् ।
कोरोना सङ्क्रमण उच्च दरमा वृद्धि भइरहेको यो प्रदेशमा अहिले निको हुनेको सङ्ख्या भने न्यून देखिएको हो । प्रादेशिक स्वास्थ्य निर्देशनालयको एक साताको तथ्याङ्क विश्लेषण गर्दा अहिले यो प्रदेश निको हुनेभन्दा पनि बढ्दो सङ्क्रमण हुने चरणमा रहेको देखिएको छ । अतः स्वास्थ्य सतर्कता अझ बढी अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीको जोड छ ।
निर्देशनालयका अनुसार वैशाख १८ गते २३ जना, १७ गते १९ जना, १६ गते २३ जना, १५ गते २१ जना, १४ गते ३१ जना, १३ गते १९ जना र १२ गते १४ जना संक्रमित निको भएका छन् ।
प्रदेशमा एक सातामा पीसीआर विधिबाट गरिएको परीक्षणमा एक हजार ४५० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९४७ गरी दुई हजार ३९७ संक्रमित थपिएका छन् । प्रदेशभरि अब सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार ३०१ पुगेको छ ।
सुदूरपश्चिममा पीसीआर विधिबाट परीक्षण गर्दा हालसम्म १६ हजार २२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये १४ हजार २९८ जना सङ्क्रमणमुक्त भएका छन् । एक हजार ८५२ जनाभने अझै निको हुन बाँकी रहेको छ ।
यसैगरी, एन्टिजेन विधिबाट परीक्षण गर्दा दुई हजार ६६९ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक हजार २०० जना निको भइसकेका छन् । एक हजार ४४९ जना अझै निको हुन बाँकी रहेको छ ।