डोटीमा आज रातिबाट निषेधाज्ञा​​​​​​​​​​​​​​
2021/05/04, 9:23
 
aa

डोटी जिल्लामा कोरोना संक्रमित हुने दर दिनहुँ बढ्दै गएपछि मंगलवार राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ । 

कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको बसेको बैठकले मंगलवार राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।

पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण बढेसँगै जिल्लामा दिनहुँ संक्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ गतेयता जिल्लामा १७३ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनाकै कारण २ जनाको ज्यान गइसकेको छ ।

अहिलेसम्म जिल्लामा कोरोना संक्रमित भएका प्रायः सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।  जिल्लामा सदरमुकामभन्दा पनि ग्रामीण क्षेत्रमा बढी कोरोनाको त्रास फैलिएको छ ।

भारतबाट रोजगारी गरी फर्किएका नागरिकहरू सिधैं गाउँमा गएर समाजमा घुलमिल भएका कारण गाउँमा कोरोना संक्रमणको त्रास फैलिएको स्थानीय बताउँछन् ।