दार्चुला सदरमुकामका ८० प्रतिशत पसलहरुमा मूल्यसुची नै भेटिएनन्
2021/05/05, 8:58
 
ac

सबै व्यवसायीक सस्थाहरुले आफ्नो बेच्ने बस्तुको मूल्यसूची राख्नुपर्ने कानुनी व्यवस्था छ। तर कानुनमा मूल्यसूची अनिवार्य राख्नुपर्ने व्यवस्था भए पनि दार्चुलाका अधिकांश ठुला बजारका व्यवसायीहरुले मूल्य सूची राख्ने गरेका छैनन्।

दार्चुला सदरमुकाम क्षेत्रमात्रै हैन जिल्लाका अन्य ग्रामीण क्षेत्रमा समेत मूल्यसूची राख्ने व्यवसायी औलामा गन्न सक्ने अवस्थामा छन्। दार्चुलाको खलंगा बंगाबगड गल्फै क्षेत्र लगायतका बजारमा प्रशासनको सहज उपस्थिति भएको ठाउंमा समेत पसलहरुले अनिवार्य रुपमा राख्नुपर्ने मूल्य सूची राखेका छैनन्। चाडपर्वमा बजार अनुगमन गर्ने परिपाटिबाहेक पनि मूल्य सूचीलाई प्रशासनले त्यति महत्व दिने गरेको छैन।

सुची नहुँदा ग्राहकलाइ जति भने पनि हुने र उपभोक्तासँग जति रकम असुल्न सकिने भएको छ। स्थानीय तह निर्माणसंगै बजार अनुगमन तथा व्यवस्थापन गर्ने सम्पूर्ण जिम्मेवारी स्थानीय तहकै हो। स्थानीय सरकार संचालन ऐन २०७४ ले पनि प्रचलित कानुन र स्थानिय तह आँफैले बनाएको कानुन अनुसार बजार अनुगमन गर्न सकिने अधिकार दिएको छ। तर अधिकांश स्थानीय तहले गर्ने अनुगमन नामको मात्र बन्दै गएको छ।

स्थानीय तहले अनुगमनको सिलसिलामा फेला परेका सामान्यतया म्याद गुज्रेका खाद्यबस्तुहरु नष्ट गर्ने र सचेत गराउने बाहेक कडाइका साथ कारवाहीमा लगेका उदाहरण दार्चुला जिल्लामा हाल सम्म हुन सकेको छैन। बेला बखत चाडपर्वको समयमा हुने मौसमी बजार अनुगमनका क्रममा उपभोग्य बस्नुको मुल्य सूची अनिवार्य पसलमा टाँस गरेको हुनुपर्ने भन्दै व्यापारीलाई सचेत गराउने गरिएको भएपनि अधिकांश पसलमा मूल्य सूची राखेको पाइँदैन। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १९ मा अत्यावश्यक र अन्य वस्तुको अनिवार्य मूल्य सुची निर्धारण गर्नु पर्ने उल्लेख गरेको छ।

बुधबार गरिएको बजार अनुगमनमा सदरमुकाम क्षेत्रका पसलेहरुले मूल्य सूचीमात्रै झण्डै ८० प्रतिशतले नराखेको पाइएको छ। दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीको संयोजकत्वमा गरिएको बजार अनुगमनमा मात्रै खलंगा बजार क्षेत्र तथा बंगाबगड क्षेत्रका झण्डै ८० प्रतिशत व्यापारीहरुले मूल्य सूची राखेको पाइएन, सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भनिन्।

हामीले पसहलेहरुलाई तत्काल मूल्य सूची राख्न आग्रह गरेका छौँ। दोस्रो पटकाको बजार अनुगमनमा नराखेको पाइएमा कानुन अनुसार कारबार्हि गर्ने सम्मको चेतावानी समेत दिइएको जोशीले बताईन्। यस्तै पसलेहरुले खरिद विलसमेत नराखेको पाइएको छ। दोस्रो पटक सम्म यी दुबै काम नगरेको पाइएमा सम्बधित पसलेलाई कार्वाहि गरिने जनाइएको छ।