सुदूरपश्चिमका २४ जना पत्रकारलाई कोरोना संक्रमण
2021/05/06, 10:27
 
corona

सुदूरपश्चिम प्रदेशका २४ जना पत्रकारलाई कोरोना संक्रमणको पुस्टि भइसकेको छ।

नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना संक्रमण फैलिएसँगै अग्रपंक्तिमा खटिने पत्रकार पनि संक्रमणको चपेटामा परेको नेपाल पत्रकार महासंघ, सुदूरपश्चिम  प्रदेश समितिका अध्यक्ष योगेश रावलले बताए। 

उनका अनुसार सबैभन्दा बढी  कैलालीका ११ जना पत्रकारलाई कोरोना पुस्टि भइसकेको छ। यस्तै कञ्चनपुर र डडेल्धुरामा ३–३, बैतडी, डोटी र बाजुराका २–२ र बझाङका १ पत्रकारलाई कोरोना संक्रमण पुस्टि भएको छ।

संक्रमित २४ जनामध्ये कैलालीका १ जनाको स्वास्थ्य अवस्था जटिल भएकोले उपचारका लागि काठमाडौं लगिएको पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले जनाएको छ।  संक्रमित अन्य २३ जना होम आइसोलेसन रहेका छन्। 

प्रदेश समितिले संक्रमित पत्रकारहरुको उपचारका लागि प्रत्येक जिल्ला शाखामा आइसोलेसन सेन्टर निर्माण गर्ने भएको छ। जिल्ला शाखाह रहेको भवनलाई आइसोलेसन सेन्टरको रुपमा रुपान्तरण गर्न निर्णय भएको अध्यक्ष रावलले बताए। 

कैलालीमा एक सुविधा सम्पन्न होटेललाई पनि आइसोलेसन सेन्टरका रूपमा निर्माण गरिने तयारी भएको अध्यक्ष रावलले जानकारी दिए।  महामारीको बेला अग्रपंक्तिमा खटिने पत्रकारलाई संक्रमणको जोखिमबाट बचेर काम गर्नपनि प्रदेश समितिले आग्रह गरेको छ।