बसन्तामा हुलाकी विस्तारका लागि रुख कटानको कार्य सुरु
2021/05/07, 10:47
 
G

​​कैलालीको बसन्ता वनमा हुलाकी राजमार्ग विस्तारका लागि रुख कटानको कार्य शुक्रबारदेखि सुरु भएको छ ।

कैलारी गाउँपालिकाको बैजपुरदेखि बसन्ता सव डिभिजन वन कार्यालयसम्म बाँकी रहेको दुई किलोमिटरमा राजमार्ग विस्तारका लागि रुख कटानको कार्य अगाडि बढाइएको हो । बढीमा १० दिनमा सो कार्य सम्पन्न गरेर राजमार्ग निर्माणको काम थाल्ने हुलाकी राजमार्ग आयोजना इन्जिनीयर पदम मडैले बताए । 

वनक्षेत्रमा पर्ने १८ किलोमिटरमध्ये १६ किलोमिटरमा भने कालोपत्रे बाटो बनिसकेको छ । विक्रम सम्वत २०७३ मा ठेक्का भए पनि वनको कानूनी अडचनका कारण दुई किलोमिटर खण्डमा भने काम रोकिएको थियो ।

गएको फागुन महिनामा मन्त्रिपरिषद बैठकले रुख कटानको आदेश दिने निर्णय गरेको दुई महिनापछि रुख हटाउने काम अगाडि बढेको हो । सो खण्डमा रहेको एक सय वटा रुख हटाउन आवश्यक रहेको आयोजनाको कार्यालयले जानकारी दिएको छ । सो खण्डको ठेक्का अवधि जेठ मसान्तसम्म रहेको छ ।  तुण्डी, प्रेरा, चन्द्रा एण्ड बसन्ता जेभीले निर्माणको ठेक्का पाएको छ ।