सबैभन्दा पुरानो सडक सहजपुर–बोगटान सडकको ट्रयाक जेठ मसान्तसम्म जोडिने भएको छ।
सुदूरपश्चिम प्रदेश सरकारको तीन करोड ८३ लाखको लागतमा निर्माण भइरहेको उक्त सहजपुर–बोगटान सडकमा खड्काकृष्ण, बङ्गलामुखी र पवन निर्माण कम्पनीले संयुक्तरूपमा निर्माण गरिरहेका छन्। कोरोना कहरका कारण यहाँका अन्य सडक क्षेत्र तथा विकास निर्माणका काम रोकिए पनि उक्त सडकको ट्रयाक जोड्ने काम भने रोकिएको छैन।
कामदार तथा मेसिन दैनिकरूपमा सडक निर्माणका लागि जुटिरहेको बोगटान फुड्सिल गाउँपालिका–१ सिमचौरका लक्ष्मण विष्टले जानकारी दिए। बहुप्रतीक्षित उक्त सहजपुर–बोगटान सडकको ट्र्याक जोडिन अब जम्मा डेढ किलोमिटर मात्रै बाँकी रहेको बताइएको छ।
विसं २०४६ देखि निर्माणको चर्चामा रहेको जिल्लाको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सहजपुर–बोगटान सडकले यसपटक पूर्णता पाउने भएपछि यहाँका नागरिक निकै खुशी भएको बडिकेदार गाउँपालिका–५ का स्थानीयवासी तथा शिक्षक धनबहादुर कलेलले बताए।
उनले भने, “कच्ची सडक शिलान्यास भएको ३० वर्षपछि ट्रयाक जोडिँदैछ, अब पक्कै गाडी चल्छ कि भनेर खुसी भएका छौँ, हेरौँ के–के हुन्छ।” प्रदेश सरकारले प्रदेशबाट सञ्चालन भएका योजना ताकिएकै समयमा निर्माण सम्पन्न हुनुपर्ने र नगरिए कारवाही गरिने सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्देशन दिएसँगै उक्त सडकको काम तीव्र रूपमा भइरहेको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए।