सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलनको काम ५ दिनका लागि रोकिएको छ । भण्डारण क्षमताभन्दा बढी स्वाब संकलन हुने अवस्था भएपछि काम रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए । ‘ल्याबको डिप फ्रिजमा ११ सय वटाभन्दा बढी स्वाब राख्न सकिँदैन,’ उनले भने । विभिन्न ठाउँबाट संकलन भएर प्रदेशको एकमात्र प्रयोगशालामा ल्याइएका नमुनाको परीक्षणमै कम्तीमा ५ दिन लाग्ने देखिएकाले हाललाई स्वाब संकलन स्थगन गर्नुपरेको उनले बताए । सेती प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै स्वाब परीक्षण भइरहेको छ ।
‘मेसिन पनि एउटै भयो, टिम पनि एउटा मात्र छ,’ उनले भने, ‘परीक्षण बढाउन मेसिन र जनशक्ति थप्नु आवश्यक छ ।’ सुदूरपश्चिममा अहिले ६० हजार जनाभन्दा बढी क्वारेन्टाइनमा छन् । सबैको पीसीआर परीक्षण गर्न अहिलेको एउटा मेसिन र जनशक्तिले नभ्याउने उनको भनाइ छ । प्रदेश सरकारले अर्को मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको भए पनि कहिलेसम्म आइपुग्ने भन्ने टुंगो छैन । अर्को मेसिन, स्वाब स्टोरेज गर्ने डिप फ्रिज र जनशक्ति बढेपछिमात्रै परीक्षणलाई गति दिन सकिने उनले बताए ।
सुदूरपश्चिममा छिमेकी भारत तथा कोरोना भाईरस प्रभावित क्षेत्रबाट फर्किनेहरुको संख्या बृद्धि भएसँगै विगतको तुलनामा अहिले परीक्षणको दायरा बढाईएको छ । तर प्रदेशको अस्थायी राजधानी धनगढीमा एउटा मात्र प्रयोगशाला हुँदा संकलित नमूना लामो समयसम्म थन्क्याउनुपर्ने बाध्यता रहेको छ । अहिले दैनिक बढिमा दुई सय देखि दुई सय ५० जनाको परीक्षण गरिरहेको धनगढी प्रयोगशालाले नमूना संकलन भए अनुसार गति दिन नसकिएको जनाएको छ । नमूना मात्रै संकलन गरेर पठाउँदा प्रयोगशालामा उपलब्ध जनशक्ति एवंम उपकरणले परीक्षण गर्न नभ्याउने देखिएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशाला इन्चार्ज रमेश शाहीले प्रयोगशालामा अहिले नमूनाको चाप बढेको बताए ।
उनले दैनिक बढिमा दुई सय ५० वटा नमूना परीक्षण भईरहेपनि जनशक्ति अभाव लगायतका कारणले गति दिन नसकिएको बताए । प्रयोगशालामा नमूनाको चाप भएका बेला स्थानीय स्तरबाट थप संकलन गरी पठाएमा उपलब्ध जनशक्ति, एउटा मात्र पीसीआर मेसिनले नभ्याउने शाहीको भनाइ छ । ल्याब टेक्निसियनहरुका अनुसार संकलित नमूनालाई ७२ घण्टा भित्र परीक्षण गर्न सकेमा विश्वसनीय र सही रिर्पोट आउने सम्भावना धेरै हुने गर्दछ । तर सुदूरपश्चिममा भने एउटा मात्र कोरोना परीक्षण प्रयोगशाला हुँदा संकलित नमूनाले लामो समयसम्म परीक्षण नहुने समस्या देखिएको छ । पशुपन्छी अन्वेषण प्रयोगशालामा जडान गरिरहेको पीसीआर मेसिनलाई अहिले दैनिक दुई सिफ्टमा चलाउने गरिएको छ । सोही प्रयोगशालामा जनशक्ति र अर्को मेसिन थपेर २४ घण्टा चलाउन सकिए परीक्षणलाई तिव्रता दिन सकिने भएपनि वेवास्ता गरिएको छ । प्रयोगशाला इन्चार्ज शाहीले अहिलेको अवस्थामा दैनिक २५० देखि तीन सय नमूना परीक्षण सम्भव भएपनि रिर्पोट पोजेटिभ देखिएको स्थितिमा पुनः परीक्षण गर्नुपर्ने हुँदा समस्या हुने बताउँछन । पोजेटिभ नमूनालाई पुनः परीक्षण गर्दा अन्यको हकमा थप ढिलाई हुन्छ । २४ घण्टा नै प्रयोगशाला सञ्चालन गर्न थप जनशक्ति र मेसिन आवश्यक पर्ने उनले बताए ।
एउटा मात्र मेसिनलाई २४ घण्टा चलाउँदा लोड धान्न नसकेर प्राविधिक समस्या आउन सक्ने जोखिम हुने भएकाले थप मेसिनको आवश्यकता पर्ने शाहीले बताए । सुदूर पश्चिम प्रदेश सरकारको मन्त्री परिषद् बैठकले चैत १५ मै कोरोना परीक्षणका लागि धनगढी सहित प्रदेशका तीन जिल्लामा प्रयोगशाला स्थापना गर्ने भनी गरेको निर्णय अझै कार्यान्वयन गर्न सकेको छैन् । धनगढीमा अहिले सञ्चालनमा रहेको पीसीआर मेसिन पनि संघीय सरकारले नै पीसीआर मेसिन पठाएको थियो । प्रदेशले प्रयोगशालामा जनशक्ति व्यवस्थापन समेत नगरिदिएपछि समस्या भएको छ भने लामो समयसम्म संकलित नमूना थन्क्याउनुपर्ने समस्याको समाधान गर्न पनि कुनै उदासिनता देखाईएको छ।
अहिले देशभरकै प्रयोगशालाको अवस्था यस्तै भएको भन्दै थप जनशक्ति आपूर्ती गरेर २४ घण्टा नै प्रयोशगाला सञ्चालन गर्ने व्यवस्था मिलाईने दावी प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीको छ । उनले सुदूरपश्चिममा जनशक्ती नभेटिएकाले संघीय सरकारलाई अनुरोध गरिएको बताए । सरकारले स्थापना गर्ने भनेका प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया सुरु भईसकेको बताउँदै उनले केही समय लाग्ने देखिएको बताए ।
यता प्रदेश सरकारले कोरोना प्रयोगशाला सञ्चालनका लागि तयारी भईरहेको जनाएको छ । प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले टेण्डर प्रक्रिया अघि वढेको र प्रयोगशाला स्थापनाको काम अघि वढेको बताए ।