चीनको वुहानबाट शुरु भई विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाईरस कोभिड १९ को जोखिम न्यूनिनकरण गर्न भन्दै गरिएको लकडाउनका कारण देश नै ठप्प छ । त्यसो त संसारका प्राय सबै देशको हालत उस्तै छ, कोरोना सक्रमणको जोखिम घटाउन सबैले अपनाएको विधि समान नै छ । यसले समग्र समाजको गतिविधि ठप्प पारेको छ । विद्यमान अवस्थाले देशको शिक्षा क्षेत्र पनि ठप्प छ ।
विद्यालय तहका लाखौं बालबालिका घर भित्रै बस्न बाध्य छन् । संक्रमण फैलनबाट रोक्न सरकारले विद्यालयस्तरका परीक्षा चैत पाँच गते भित्र सम्पन्न गर्न सुुझाए अनुसार अधिकाँश विद्यालयले कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा लिईसकेका छन् । परीक्षा सकेकाहरु मध्ये अधिकाँशले नतिजा पनि निकालिसकेका छन् । तर, विद्यालय बन्द अवस्थामा छन् । हाल अत्यावश्यक सेवा बाहेकका सम्पुर्ण सेवाहरू बन्द गरी विगत चैत ११ देखि जारी गरिएको लकडाउन कायम नै छ । अहिलेको परिस्थितिमा कक्षा १ देखि ९ सम्म लगभग ८० लाख बालबालिका घरमा बस्नै वाध्य छन् । विश्वविद्यालय तहका लाखौं विद्यार्थीको अवस्था पनि उस्तै छ । विश्वविद्यालयका विद्यार्थीको तुलनामा विद्यालय तहका विद्यार्थीबारे फरक तरिकाले सोच्नु आवश्यक छ ।
घरको दायित्व
हरेक बालबालिकाको पहिलो पाठशाला घर हो । अभिभावकवाट नै उसको पहिलो सिकाइको शुरूवात हुन्छ । शिक्षित अभिभावक भएको परिवारमा बालबालिका धेरैजसो सवल र सक्षम पनि हुन्छन् । बोलिचाली, संस्कार र व्यवहारमा अरूको भन्दा उल्लेख्य रूपमा राम्रो हुन्छ । घर परिवारले गर्ने व्यवहारले बालबालिकाहरूलाई प्रत्यक्ष असर गरेको हुन्छ । देशमा लकडाउनका कारण अधिकांश मानिस आफ्नो स्थायी बसोवासमा पुगेका छन् । अभिभावक, बालबालिकाहरू घरमा नै बस्न वाध्य भएकोले नियमित पढाइ नहुनाले पढ्ने बानी हराउने चिन्ताले शिक्षण संस्था कहिले देखि सुरू हुने हो भन्ने दोधारमा रहेका छन् ।
विद्यालयमा बिताउने समय त ६ घण्टा मात्रै हो १८ घण्टा त अभिभावकसँगै रहेको हुन्छ । वर्तमान अवस्थामा भने अभिभावकसँगै बालबालिका रहेकोले सिकाइका लागि घर परिवारबाटै पहल हुन जरुरी देखिन्छ ।
आधारभूत सिकाइका लागि घर
विद्यालयमा मात्रै सिकाइ हुन्छ भन्ने धारणामा परिवर्तन गर्नुपर्ने देखिन्छ । घर र वरिपरिका वातावरण हाम्रा विद्यालय वा विश्वविद्यालय भन्दा कम छैनन् । बालबालिकालाई कस्तो बनाउने भन्ने निर्णायक भूमिका अभिभावकमा रहेको हुन्छ । अहिले देशमा भएको लकडाउनको अवस्थाले २४ सैं घण्टा अभिभावकसँग बच्चा रहेका छन् । यो अवधि अभिभावक एवं बालबालिकाको लागि सुरम्य अवसर सावित हुन सक्छ । बालबालिकालाई घरका कामहरू जस्तै सरसफाइ, सिर्जनशील काममा लगाउने, घरका निर्णयमा सहभागी गराउने जसले अपनत्वको भावना विकास हुन्छ, खेल खेल्ने, योग ध्यान तथा व्यायममा सहभागी गराउने, ईण्टरनेटको सम्भावना भएको ठाँउमा त यसको प्रयोग गरी ज्ञानवर्धक सामाग्रीहरू खोज्न लगाउने, रचनात्मक र प्रेरणादायी कुराहरूको खोजका लागि प्रेरित गर्ने, समाजका रीतिरिवाज तथा चालचलन संस्कृतिको बारेमा कुराकानी गर्ने अवसर मिलेको देखिन्छ । यसरी घरमा गरिने आधारभूत सिकाइ आगतमा उसका लागि विद्यालयीय सिकाइमा कोशेढुंगा सावित हुनसक्छ ।
कृषि सम्बन्धी जानकारी
यस समयमा बालबालिकालाइ करेशाबारी, फुलबारी आदिको कामको बारेमा समेत जानकारी गराउन सकिन्छ । अभिभावकसँग खेतबारीमा गएर काम गर्ने, खेतबारीको कामले कामको मात्रै सिकाइ नभइ बालबालिकाले सजीव र निर्जीव, एकदलीय र बहुदलीय, नगदेवालीको महत्व, खेतीपाती लगाउने तरिका, कृषि काम गर्दा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीको बारेमा जानकारी गराउन सकिन्छ । कतिपय कुरामा त उनीहरु आफै जिज्ञासु भई सोधखोज गर्ने, यो के हो ? कसरी भयो ? आदि जस्ता प्रश्न गरेर अभिभावकसँग उत्तर खोजिरहेका हुन्छन् । यस अवस्थामा उनीहरुलाई सही किसिमले दिशा निर्देश गर्न सकियो भने कृषि सम्बन्धी सिकाइको ज्ञान पनि ताजगी भै स्थिर रुपमा बसेको हुन्छ ।
जीवनोपयोगी सीपका लागि अवसर
यतिबेला बालबालिकामा जीवनोपयोगी सीप सिक्ने अवसर प्राप्त भएको छ । उनीहरुले गनुपर्ने दैनिक व्यक्तिगत सरसफाइ, घरको सरसफाइ , घरवरिपरि फुलवारी तथा करेशाबारीमा गोडमेल तथा संरक्षण, कपडा धुने, मिलाएर राख्ने , आइरन गर्ने र प्रयोग गरेका सामाग्री उचित ठाँउमा राख्ने,सामानहरूको मर्मत तथा संरक्षण गर्ने, मन परेको विषयमा स्वतन्त्र लेखन, मन परेको गीत गाउन तथा नाच्ने जस्ता जीवनोपयोगी सीप सिक्नका लागि समेत यो समय उपयुक्त अवसरका रुपमा परिणत हुनसक्छ ।
योग, ध्यान तथा व्यायाम
फुर्सदको समयमा बालबालिकालाइ विहान सबेरै उठेर योग ध्यान गराउन सकिन्छ । यसले गर्दा एकातिर उनीहरु आध्यात्मिकता तर्फ उन्मुख हुँदै जान्छन् भने अर्कोतिर स्मरण शक्तिको विकास हुनुका साथै मन र मस्तिष्कमा सकारात्मक भावना पैदा हुन्छ । त्यस्तै व्यायामले बालबालिकाको शारीरिक विकास हुनुका साथै शरीर स्वस्थ्य र फुर्तिलो बन्न सहयोग मिल्छ । भनिन्छ स्वस्थ शरीर नै स्वस्थ मष्तिष्कका लागि उपयुक्त आधार हो ।
डिजिटल शैक्षिक सामाग्री
अबको दुनियाँ सूचना र प्रविधिको दुनियाँ हो । नेपाल भौगोलिक विकटता भएको मुलुकमा सबै ठाउँमा विद्युतीय सामग्रीको प्रयोग गर्न असम्भव भएता पनि उपलब्ध हुने स्थानहरूमा डिजिटल सामग्रीको प्रयोग गर्न सकिन्छ । अबको एक्काइसौं शताब्दीको पुस्ता प्रविधिमा चासो राख्ने पुस्ता हो । सिकाइलाई दीगो र प्रभावकारी बनाउन बालबालिकालाई कक्षागत सिकाइ सामग्रीको खोजमा लाग्न अभिभावकले अभिप्रेरित गर्न सकिन्छ । संभव हुनेले घरबाटै गुगल सर्च गर्न लगाई मनपर्ने गीत, चित्र, कविता वा अन्य सामग्रीको संकलन र संग्रह गर्न उनीहरुलाई प्रेरित गराउन सकिन्छ ।
अध्ययनमा निरन्तरता
विश्वव्यापी कोरोनाका कारण माध्यमिक शिक्षा परीक्षा लगायत अन्य नियमित परीक्षा स्थगन भएको अवस्थामा विद्यार्थीले विशेष गरी समय तालिका बनाएर सबै विषयलाई प्राथमिकतामा राखेर अध्ययन गर्ने, पुराना प्रश्नपत्रहरू, सन्दर्भ सामग्री,अडियो भिडियो सामग्रीका साथै सम्भव भएका ठाँउमा ईण्रनेटबाट सिधै वा डाउनलोड गरेर अध्ययन कार्यलाई थप प्रभावकारी बनाउन सकिन्छ । पढाइका औपचारिक,अनौपचारिक र अरीतिक तरिकामध्ये विद्यालय बन्द भएर औपचारिक पढाइ संभव नभएपनि अन्य २ तरिकालाई विकल्पको रुपमा लिएर निरन्तरता दिन सकिन्छ । यसो भयो भने मात्र सिकाइलाई बिस्मरण हुँनबाट जोगाउन सकिन्छ ।
अभिभावक नै गुरु
यतिबेला ६ घण्टा बिताउने विद्यालयका शिक्षकभन्दा १८ घण्टा सँगसँगै हुने अभिभावक नै विद्यार्थीका पहिला गुरु हुनुपर्ने अवस्था छ । महान दार्शनिक रुसोले भनेका छन्, प्रकृतिबाट सिक । हाम्रा महाकवि देवकोटा पनि पानीका छहरा, पहाडका खोल्सा र प्रकृतिका दृश्यलाई पनि पढ्न सकिन्छ भन्छन । तसर्थ विद्यालय बन्द हुनु भनेको सिकाइको अवसर बन्द हुनु होइन । थप सिकाइका लागि संभावनाको ढोका खुलेको भन्ठान्नु पर्छ । सिकाइका विधि विभिन्न छन्। सिक्नु मात्रै ठूलो कुरा होइन व्यवहारमा परिवर्तन ल्याउनु सबैभन्दा महत्वपूर्ण विषय हो । बालबालिकाको व्यवहारमा परिवर्तन ल्याउनमा अभिभावकको भूमिका महत्वपुर्ण रहेकोले केही समय विद्यालयमा पढाइ स्थगित हुँदैमा बालबालिकाको शैक्षिक क्षति हुँदैन । वर्तमान अवस्थामा घरभित्रको सिकाइ तथा प्रविधिको प्रयोग गर्न सकिने ठाँउमा प्रविधिको प्रयोग गरी अनलाइन कक्षाबाट पनि सिक्न सकिन्छ । कतिपय ठाँउमा अनलाईन विधिवाट पनि सिकाइले प्रश्रय पाएको छ । यसका लागि आगामी दिनमा देशको जुनसुकै ठाँउमा पनि प्रविधिको पहुँच पुुर्याउनुपर्ने जरुरी पनि क्रमशः महसुस हुँदैछ ।