सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका ८ जना, बैतडीका २ जना तथा कञ्चनपुर, दार्चुला र बझाङका एक एक जना संक्रमितको मृत्यु भएको हो ।
कैलालीको धनगढी उपमहानगरपालिकाका ५ जना कोरोना संक्रमितको पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । उपमहानगरपालिका–३ की ६१ वर्षीया महिला, धनगढीकै वडा नम्बर १ की ५० वर्षीया महिला, धनगढी–५ का ४३ वर्षीय पुरुष, धनगढी–४ का ८१ वर्षीय पुरुष, धनगढी–१२ की ५० वर्षीया महिलाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
कैलालीको धनगढी बाहेक बर्दगोरियाका दुई जना र लम्की चुहाका एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ की ४२ वर्षीया महिला, बर्दगोरिया गाउँपालिका–६ का ६१ वर्षीय पुरुष र बर्दगोरियाकै वडा नम्बर २ का ५७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए । उनीहरुको धनगढी स्थित सेती अस्पताल र यहाँका निजी अस्पतालमा मृत्यु भएको प्रशासन कैलालीले जनाएको छ ।
उता बैतडीका दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बैतडीको पाटन नगरपालिकाको–४ का ३९ वर्षीय पुरुषको पनि शुक्रबार मृत्यु भएको छ । वैशाख २२ गते संक्रमण पुष्टि भएका उनलाई उपचारका लागि डडेल्धुरा ल्याउने क्रममा बाटोमै मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ती पुरुषको जिल्ला अस्पतालको आइसोलेशनमा राखेर उपचार भइरहेकोमा स्वास्थ्यमा थप समस्या देखिएपछि डडेल्धुरा ल्याउँदै गर्दा अनारखोलीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै बैतडीको दोगडाकेदार गाउँपालिका स्थायी घर भएका एक जना पुरुषको धनगढीमा मृत्यु भएको छ । बैतडी घर भएर जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाका कार्यालय प्रमुख एवम् वरिष्ठ कविराज (निरीक्षक) लोकेन्द्र जोशीको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । केही दिन अघि कोरोना पुस्टि भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा शनिबार बिहान मृत्यु भएको जिल्ला आयुर्वेद स्वास्थ केन्द्र दार्चुलाले जनाएको छ ।
४५ वर्षीय जोशी उपचारका लागि गत हप्ता भारतको दिल्ली गएका थिए । भारतबाट फर्किएपछि उनीलाई धनगढीमा कोरोना संक्रमण पुष्टि भएको थियो । उता दार्चुलाको गोकुलेश्वर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको हो । शैल्यशिखर नगरपालिका–९ की ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालका डाक्टर नियाज अन्सारीले बताए । शुक्रबार अचानक श्वास प्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनमा दमको समस्या रहेको थियो । उनको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
बझाङमा पनि केदारस्युँ–१ देउराका ७० वर्षीय वृद्धको मृत्यु भएको छ । उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले बनाएको कोरोना अस्पतालमा मृत्यु भएको हो । विगत ५ वर्षदेखि प्यारालाइसिस रहेका उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए । बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
यस्तै कञ्चनपुरका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको पुर्नवास नगरपालिका–११ का ८६ वर्षीय पुरुषको उपचारका क्रममा धनगढीमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।