गेटा मेडिकल कलेजमा आईशोलेसन बन्यो तर अक्सिजन र जनशक्ती भएन
2021/05/09, 11:43
 
dd

कैलालीको गेटा मेडिकल कलेजमा आईसोलेसन बनाउने काम सकिए पनि अन्य कुराहरुको व्यवस्थापन हुन नसक्दा संञ्चालनमा आउन सकेको छैन ।

कोरोनाका बिरामीको उपचारको लागि निर्माणाधीन गेटा मेडिकल कलेजको भवनमा आइसोलेसन निर्माणको काम सकिए पनि अक्सिजन र जनशक्तीको व्यवस्थापन गर्न नसकिएको हो । 

मेडिकल कलेजको भवनमा विद्युत, खानेपानी, शैय्या लगायत सबै संरचना बनाउने काम सकिएको छ । तर सञ्चालनमा ल्याउन भने कठिनाई देखिएको छ ।

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा आइसोलेसन निर्माण गरिएको हो । तर अक्सिजन ग्यास र जनशक्ती व्यवस्थापनमा ढिलाइ हुँदा सेवा सुरुवात गर्न नसकिएको बताईएको छ । 

एक्सन ओरियन्टेट कमिटीका संयोजक समेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अक्सिजन र जनशक्ति व्यवस्थापनको कार्य भईरहेको भन्दै जति सक्दो चाँडो सेवा सुरु गर्ने गरी लागिएको बताए । 

‘ग्यासको व्यवस्थापन इन्डोर सिस्टमबाट गरिरहेका छौं । गेटाको लागि ३ सय सिलिण्डरको व्यवस्थापन भइरहेको छ ।’ मेयर वडले भने– ‘खाली सिलिण्डर नभएर केही समस्या भएको छ । खाली सिलिण्डर कसैसँग भए बुझाउन समेत अनुरोध गर्दछु । सिलिण्डर उपलब्ध गराउनेलाई उचित सम्मान पनि गर्नेछौं ।’

सुरुवाती अवस्थामा एक सय शैय्याबाट आइसोलेसन सञ्चालन गरिने भएको छ । त्यसपछि  ५ सयदेखि २ हजार शैय्यासम्म विस्तार गरिने योजना बनाईएको छ ।