सेती प्रादेशिक अस्पतालले बैशाख १९ गते विशेषज्ञ डाक्टर सहित विभिन्न तहका गरी ६८ पद संख्याको लागि आवेदन खुला गरेकोमा ती पदहरुमा ११९ वटा आवेदन परेको छ ।
आइतबार आबेदनको अन्तिम दिन रहेकोमा सो अवधिसम्म ६८ पदको लागि ११९ वटा आवेदन परेको अस्पतालका प्रशासन अधिकृत दिलिप सिंह साउँदले बताए ।
अस्पतालले ७१ जना स्टाफ नर्स माग गरेकोमा सो पदमा भने ७१ जनाले नै आवेदन दिएका छन् । एनेथिसिया पदका लागि २ जना माग गरिएकोमा १ जना, ल्याब टेक्निसियनको लागि २ जना माग गरिएकोमा २१ जनाले आवेदन दिएका छन । एक जना मेडिकल ल्याब टेक्नोलोजिस्ट माग गरिएकोमा ६ जनाले आवेदन दिएका छन् ।
अस्पतालको स्वीकृत दरबन्दीको ३ र सामाजिक विकास मन्त्रालयको कोभिड कार्यक्रमको लागि ७ जना गरी १० जना मेडिकल अधिकृत माग गरिएकोमा २ जनाले मात्रै आवेदन दिएका छन् । १ जना नर्सिङ अधिकृत माग गरिएकोमा ९ जनाले आवेदन दिएका छन ।
एक जना सर्जन विशेषज्ञ माग गरिएकोमा ३ जना, १ जना मेडिकल ल्याब टेक्नोलोजिस्ट माग गरिएकोमा १ जनाले आवेदन दिएका छन । १ जना अस्पताल नर्सिङ माग गरिएकोमा ३ जनाले आवेदन दिएको अस्पतालले जनाएको छ ।
त्यस्तै, अस्पतालले विशेषज्ञ डाक्टरको लागि पनि आबेदन खुला गरेकोमा त्यसमा भने कुनै आवेदन परेको छैन् । २ जना बालरोग विशेषज्ञ, ३ जना फिजिसियन, १ जना मानसिक रोग बिशेषज्ञ, १ जना कन्सल्टटेन्ट मेडिकल जनरलिष्ट र १ जना माइक्रो बायोलोजिष्ट कन्सल्टटेन्ट माग गरिएकोमा कसैको पनि आवेदन नपरेको अस्पताल प्रशासनले जनाएको छ ।