सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय नाघेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म २०८ जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो वैशाख महिनामा मात्रै एक सय ५० जनाले ज्यान गुमाएका छन् ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा वैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । आईतबार साँझ जारी तथ्यांकमा १८ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । शनिबार साँझको तथ्यांकमा अहिलेसम्म १९० जनाको मृत्यु भएको विवरण राखिएको थियो ।
पछिल्लो दिनमा कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने रहेका छन् । पछिल्लो ९ दिनमा कोरोनाबाट ११८ जनाले ज्यान गुमाएका छन् । १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना र ६ गते १८ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसभन्दा अघि वैशाख महिनामा ३३ जनाको मृत्यु भएको थियो । बैशाख अघिका ३ महिना यता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको थियो । जुन क्रम अहिले अकल्पनीय रुपमा बढेको छ । वैशाख यता मात्रै एक सय ५० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या समावेश गरिएको छैन् । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको छ ।
भर्ना भएका संक्रमित र शंकास्पद बिरामीलाई अक्सिजन उपलब्ध गराउन नसक्ने अवस्था आएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताए । अक्सिजनको आपूर्ति तत्काल हुन नसके स्थिति भयावह हुने उनको भनाई छ । अक्सिजनको पर्याप्त आपूर्ति भर्ना भएकै बिरामीलाई दिन नसकिएको मेसु पाण्डेयले बताए ।
धनगढीका कुनै पनि अस्पतालमा पर्याप्त अक्सिजन छैन । अधिकांश अस्पतालमा रहेका संक्रमित अक्सिजन अभावमा छटपटाइरहेका छन् । संक्रमितका आफन्तहरु धनगढीका कुनै पनि अस्पतालमा अक्सिजन पाउन नसकेको गुनासो गर्छन् ।
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण बढेसँगै मृत्युदर पनि उच्च हुँदै गएको छ । पछिल्लो समय नयाँ प्रकृतिको कोरोना देखिएसँगै कडा लक्षण भएका विरामी थपिदा अक्सिजनको अभावले ज्यान गुमाउनेको संख्या अत्याधिक हुदैं गएको छ । सुदूरपश्चिम प्रदेशमा २०७६ चैत ११ गतेदेखि लकडाउन गरिएको थियो ।
सुरुवाती केही महिनासम्म कोरोना संक्रमण दर उच्च रह्यो । तर माघदेखि फागुन महिनामा संक्रमण दर घटेको थियो । चैतदेखि पुनः संक्रमण बढेको हो । नयाँ प्रकृतिको कोरोना सहित संक्रमण दर बढ्न थालेको छ । योसँगै मृत्यु दर पनि बढेको छ ।
सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिममा हालसम्म १९ हजार बढीको पीसीआर पोजिटिभ देखिएको छ । जसमध्ये १५ हजार निको भईसकेका छन् । सुदूरपश्चिममा केही सातायता कोरोना संक्रमण तीव्र बनेको छ । गम्भीर अवस्थाका संक्रमितलाई उपचारका लागि अक्सिजन आवश्यक पर्छ ।
गम्भीर अवस्थाका संक्रमित बढ्दै जाँदा अक्सिजनको माग पनि बढेको हो, तर आपूर्ति भने बढ्न सकेको छैन । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सुदूरपश्चिममा अहिले दैनिक करिब पाँच सय सिलिन्डर अक्सिजन आवश्यक छ । तर, यहाँ दैनिक डेढ सय सिलिन्डर अक्सिजन मात्र उत्पादन भइरहेको प्रदेश स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए ।