बैतडीको दोगडाकेदार गाउँपालिकाका लोकेन्द्र जोशीको शनिबार बिहान धनगढीस्थित सेती प्रादेशिक अस्पतालको कोभिड वार्डमा मृत्यु भयो। जोशीलाई शुक्रबार नै अस्पतालमा भर्ना गरिएको थियो। उनको आईसीयूमा उपचार भइरहेको थियो। उनलाई गाह्रो भएपछि अक्सिजन दिनुपर्ने भयो। तर, उनले अक्सिजन पाउन सकेनन्।
जोशी कञ्चनपुरको महाकाली नगरपालिकास्थित आयुर्वेद अस्पतालका कविराज हुन्। उनका आफन्तले अस्पतालमा पाइपलाइनबाट जोडिएको अक्सिजनको मात्रा अपुग भएपछि ज्यान गएको आरोप लगाएका छन्। कोभिड वार्ड परिसरमै रहेको अक्सिजन प्लान्टबाट पाइपको माध्यमले बिरामीलाई अक्सिजनको आपूर्ति गर्ने प्रबन्ध गरिएको छ।
‘ज्वाइँ सापलाई पाइपलाइनबाट चाहिनेजति मात्रामा अक्सिजन आइरहेकोे थिएन’, जोशीका जेठान श्यामराज अवस्थीले भने, ‘हामीले राति अक्सिजन सिलिन्डर माग्यौं। तर, अस्पतालले उपलब्ध नभएको जवाफ दियो।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले जोशी गम्भीर अवस्थामै भर्ना भएको बताए । ‘उहाँको अक्सिजनको लेबल कम थियो । आईसीयूमा त पाइपलाइनबाटै अक्सिजन छ।, बाहिर प्रचार गरेजस्तो भने होइन’, डा. पाण्डेयले भने।
धनगढी उपमहानगरपालिका–३ हसनपुरका ४५ वर्षका राजु श्रेष्ठको शनिबार नै अक्सिजन अभावका कारण ज्यान गयो । उनलाई एक साताअघि कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो।
श्रेष्ठका भतिजा बाबुराजा श्रेष्ठका अनुसार उनलाई शनिबार श्वास–प्रश्वासमा बढी समस्या हुन थालेपछि धनगढीस्थित नवजीवन अस्पतालमा भर्ना गरियो। भने, ‘नवजीवन अस्पतालमा अक्सिजन सकिएछ। हामीले उनलाई तुरुन्तै सेती प्रादेशिक अस्पतालमा भर्ना गर्यौं।’
सेती प्रादेशीकको कोभिड अस्पतालमा ५५ बिरामी राख्ने क्षमता छ। सो दिन त्यहाँ ८५ जनाको उपचार भइरहेको थियो। कोभिड अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप रहेको थाहा पाएपछि श्रेष्ठका आफन्तले उनलाई काठमाडौं लैजाने निर्णय गरे। ‘बल्लतल्ल हेलिकोप्टरको व्यवस्था भयो। त्यति बेलासम्म उहाँ (काका) को अवस्था ठीकै थियो। उहाँ आफैं एम्बुलेन्सबाट हिँडेर हेलिकोप्टरमा चढ्नुभएको थियो’, बाबुराजाले भने, ‘तर, काठमाडौं पुग्दा नपुग्दै उहाँको ज्यान गयो।’
अक्सिजन अभावमा कोभिडका बिरामीको मृत्यु संख्या वृद्धि हुन थालेपछि आफन्त आक्रोसित छन्। बाबुराजाले भने, ‘सुदूरपश्चिम प्रदेशका धनगढी, कैलाली सहित प्रायः सबै जिल्ला अस्पतालमा संक्रमितको मृत्यु भइरहेको समाचार आइरहेका छन्। तर, प्रदेश सरकारले अहिलेसम्म यसबारे गम्भीरतापूर्वक पहल गरेको छैन।’