अक्सिजन अभाव भएपछि सुदूरपश्चिमका अस्पतालहरूले थप कोरोनाभाइरस संक्रमितको उपचार गर्न नसकिने बताएका छन्। सुदूरपश्चिमका विभिन्न सरकारी तथा निजी अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढिरहेको छ। यसैबीच निजी अस्पताल सुदूरपश्चिम प्रदेश समितिले अक्सिजन अभाव रहेकोले थप बिरामी भर्ना गर्न नसक्ने उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ।
कैलालीमा रहेका १० वटा निजी अस्पतालले आफूहरूसँग भएका शय्याको २० प्रतिशत कोरोनाका बिरामीका लागि छुट्याएर उपचार गर्दै आएको बताएका छन्। संघका प्रदेश अध्यक्ष जनकराज जोशीले अक्सिजन अभाव हुँदा बिरामीको उपचारमा समस्या देखिएको बताए। ‘नियमित अक्सिजनको आपूर्ति हुने भए २० प्रतिशत मात्रै होइन, सबै बेड दिन तयार छौं,’ उनले भने, ‘अहिले अस्पताल भर्ना भएर आउने अधिकांश बिरामीलाई अक्सिजन चाहिन्छ। अक्सिजन नै दिन नसक्ने भएपछि बिरामी भर्ना गर्न सक्ने अवस्था छैन।’
धनगढीस्थित कैलाली अस्पतालमा मंगलबार ८ जना संक्रमित थिए। अक्सिजन अभाव भएपछि चार जनालाई अन्तै सारिएको थियो भने चार जनाका आफन्त आफैँले अक्सिजनको जोहो गर्नुपरेको थियो। अक्सिजन अभाव हल गर्न प्रदेश सरकार र प्रशासन गुहारे पनि अक्सिजनको व्यवस्थापन हुन नसकेको उनको भनाइ छ।
‘अस्पतालहरूमा अक्सिजनको अवस्था के छ भन्नेबारे सरकारले अहिलेसम्म सोधेको पनि छैन। सबै भगवान भरोसामा चलेको छ,’ उनले भने। कैलालीमा पदमा अस्पताल, सिपी अस्पताल, माया मेट्रो, केजी, नवजीवन, कैलाली, सारथी, नोभा, निसर्ग र ओम आशा अस्पतालले कोरोना संक्रमितको उपचार गरिरहेका छन्। तीमध्ये ५ ओटा प्रदेश अन्तर्गत पर्ने र ५ ओटा १५ शय्यासम्मका स्थानीय तहअन्तर्गतका अस्पताल हुन्। यी निजी अस्पतालसँग प्रदेश सरकार र स्थानीय तहले कोरोनाका बिरामीको उपचारमा लागेको खर्च व्यवस्थापन गर्ने गरी सम्झौता गरेका छन्।
नवजीवन अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर विधुरमणि ढकालले कोरोना वार्ड भनेर छुट्टै भवन बनाएर संक्रमितको उपचार गरिएको बताए। १० शय्या कोभिडका लागि छुट्याएको यस अस्पतालमा अहिले १२ जनाको उपचार भइरहेको छ। ‘हामीलाई पनि अक्सिजनको समस्या छ । केही बिरामीका आफन्तले ल्याउनु भएको छ,’ उनले भने, ‘केही हामीले पनि जोहो गरेका छौं।’
यस अस्पतालले धनगढीमा रहेको मालिका अक्सिजन ग्यास उद्योगबाट दैनिक ५ ओटासम्म र नेपालगन्ज गाडी पठाएर त्यहाँबाट २५ ओटा सिलिण्डर भरेर ल्याउने गरेको छ। ‘अहिले सरकारले अक्सिजन दिन सक्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ उनले भने। प्रदेशका सरकारी अस्पतालमा पनि अक्सिजनको अभाव छ। अक्सिजन अभावमा बिरामीको मृत्यु भइरहेको आफन्तहरूको गुनासो छ। प्रदेशका सरकारी अस्पताल सेती, महाकाली र टीकापुरमा पनि अक्सिजन अभाव छ।