सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ७० पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म २७० जनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो वैशाख महिनामा मात्रै दुई सय १२ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा वैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको मृत्यु भएको थियो । बुधबार साँझ जारी तथ्यांकमा १४ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । मंगलबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ५६ जनाको मृत्यु भएको विवरण राखिएको थियो ।
पछिल्लो दिनमा कोरोनाका कारण सबैभन्दा बढी ज्यान गुमाउने रहेका छन् । बैशाखको अन्तिम साता कोरोनाबाट सबैभन्दा वढीले ज्यान गुमाएका छन् । पछिल्लो तीन दिनमा मात्रै कोरोनाबाट ६२ जनाको मृत्यु भएको छ ।
पछिल्लो १२ दिनमा कोरोनाबाट एक सय ८० जनाले ज्यान गुमाएका छन् । १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना र २९ गते १४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
यसभन्दा अघि वैशाख महिनामा ३३ जनाको मृत्यु भएको थियो । बैशाख अघिका ३ महिना यता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको थियो । जुन क्रम अहिले अकल्पनीय रुपमा बढेको छ । वैशाख यता मात्रै सुदूरपश्चिममा दुई सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या समावेश गरिएको छैन् ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको छ ।