सुदूरपश्चिम प्रदेशमा पछिल्लो पछिल्लो १२ दिनमा कोरोनाबाट एक सय ८० जनाको मृत्यु भएको छ । वैशाख १८ गतेदेखि वैशाख २९ गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा एक सय ८० जनाको मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो तीन दिनमा सबैभन्दा वढी ६२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
वैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना र २९ गते १४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । वैशाख २७, २८ र २९ गते मात्रै गरेर ६२ जनाको मृत्यु भएको छ ।
यसभन्दा अघि वैशाख महिनामा ३३ जनाको मृत्यु भएको थियो । बैशाख अघिका ३ महिना यता सेती प्रादेशिक अस्पतालमा मात्रै उपचाररत ३ जनाको मृत्यु भएको थियो । जुन क्रम अहिले अकल्पनीय रुपमा बढेको छ । वैशाख यता मात्रै सुदूरपश्चिममा दुई सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांकमा होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या समावेश गरिएको छैन् ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको छ ।