अक्सिजनको नहुँदा गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन सेन्टर चलाउन ढिलाइ
2021/05/13, 1:19
 
aa

अक्सिजनको व्यवस्थापन हुन नसक्दा कैलालीको गेटा मेडिकल कलेजमा बनाइएको आइसोलेसन सेन्टर सञ्चालनमा ढिलाइ भएको छ। कलेजमा २ हजार बेड क्षमताको आइसोलेसन बनाउने सरकारी योजना अनुसार अरू तयारी पूरा भए पनि अक्सिजनको व्यवस्था नभएर सञ्चालन हुन नसकेको हो।

जिल्ला प्रशासन कार्यालय कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले व्यववस्थापन गरिरहेको उक्त आइसोलेसन सेन्टरमा अहिले ४० बेड तयार पारिएको छ।  आइसोलेसन सेन्टर निर्माण समितिका संयोजक धनगढीका मेयर नृपबहादुर वडले कलेजमा बिजुली, पानी, बत्ती, बाटो र सुरूमा आवश्यक पर्ने बेड तयार भएको बताए।

उनले अक्सिजनको व्यवस्था नभएकाले आइसोलेसन सञ्चालन गर्न ढिला भइरहेको बताए। गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदले पनि अक्सिजन सिलिन्डर नपाएर नै आइसोलेसनमा बिमारीलाई राख्न ढिलाइ भइरहेको बताए। ‘अरू सबै तयार बनाइसकिएको छ, अक्सिजन सिलिन्डरबिना बिरामी राख्दा फेरि समस्या हुने भएकाले सुरू गरिएको छैन,’ उनले भने।

साउदका अनुसार एक सय सिलिन्डर खरिदका लागि यी दुई नगरापालिकाले छलफल थालेका छन्। गेटामा बनेको आइसोलेसनमा प्रदेश सरकारले अक्सिजनको व्यवस्था गर्न चासो देखाएको छैन। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टको सचिवालयले गेटामा बनेको आइसोलेसनमा संघीय सरकारले चीनबाट ल्याउने सिलिन्डरबाट केही संख्यामा उपलब्ध गराइने जनाएको छ।