सुदूरपश्चिम प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई सय ८७ पुगेको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार हालसम्म दुई सय ८७ जनाको कोरोनाका कारण ज्यान गएको छ । पछिल्लो बैशाख महिनामा मात्रै दुई सय २९ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले दैनिक रुपमा जारी गर्दै आएको तथ्यांकमा बैशाख १ गतेभन्दा अघि कोरोनाबाट प्रदेशमा ५८ जनाको ज्यान गएको थियो । बिहीबार साँझ जारी तथ्यांकमा १७ जनाको ज्यान गएको उल्लेख गरिएको छ । बुधबार साँझको तथ्यांकमा अहिलेसम्म दुई सय ७० जनाको ज्यान गएको विवरण राखिएको थियो ।
बैशाखको अन्तिम हप्ता कोरोनाबाट धेरैले ज्यान गुमाएका छन् । पछिल्लो चार दिनमा मात्रै कोरोनाबाट ७९ जनाको ज्यान गएको छ । पछिल्लो १३ दिनमा कोरोनाबाट एक सय ९७ जनाको ज्यान गएको छ । बैशाख १८ गतेदेखि बैशाख ३० गतेसम्मको अवधिमा कोरोनाबाट प्रदेशमा एक सय ९७ जनाको ज्यान गएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो चार दिनमा सबैभन्दा बढी ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । बैशाख १८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना, २५ गते १५ जना २६ गते १८ जना, २७ गते १७ जना, २८ गते ३१ जना, २९ गते १४ जना र ३० गते १७ जना संक्रमितको ज्यान गएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैशाख २७, २८, २९ र ३० गते मात्रै गरेर ७९ जनाको ज्यान गएको छ । सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको डाक्टरहरुको भनाई छ ।