सेती अस्पतालका चालक हरि, जसले महिनामै सयभन्दा बढि कोरोना संक्रमितको शव बोके
2021/05/16, 12:56
 
dd

शनिबार राति ८ बजेको थियो । फोन गर्दा उनी शव वाहन चलाउँदै थिए । उनले भने, ‘आजको तेस्रो ट्रिप हो । अहिले एक जना कोभिड–१९ संक्रमितको शव सेती प्रादेशिक अस्पतालबाट बोकेर गोदावरीको जंगलमा पुगेको छु ।’

सो शव वाहनका चालक हुन्, हरी चौधरी । उनी लामो समयदेखि सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. हेमराज पाण्डेयको घरमा खाना पकाउने काम गर्थे । 

माघदेखि उनले काम फेरेर पाण्डेयको गाडी चलाउन थाले । सो अवधिमा कहिलेकाँही उनले अस्पतालको शव वाहन पनि चलाउने गर्थे । उनी भन्छन्, ‘कोरोना भाइरसको महामारी बढ्न थालेपछि विगतमा शव वाहन चलाउनेहरूले पनि काम गर्न मानेनन् । बैशाख महिनादेखि मैले नै शव वाहन पनि चलाउन थाले ।’ 

बैशाखमा मात्रै एक सय तीन जना कोभिड संक्रमणबाट ज्यान गुमाएका व्यक्तीको शव बोकेको उनले बताए । ‘आज जेठको पहिलो दिन तीन ट्रिप गर्नुपरेको छ ।’ उनले भने, ‘पहिलो ट्रिपमा तीन, दोस्रोमा दुई र अहिले एक जनाको शव बोकेर गोदावरीको जंगलमा पुगेको छु ।

मेरो एउटै इच्छा छ– अबदेखि कसैको पनि शव बोक्नु नपरोस् ।’ कोभिडको दोस्रो लहर सुरु भएपछि उनी निदाउन पाएका छैनन् ।