सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेश सरकारले काम नगरेको भन्दै भ्रम फैलाइएको आरोप लगाएका छन् । उद्योग वाणिज्य संघ कैलालीले कोरोना भाइरसको संक्रमण रोकथामका लागि भएका प्रयासबारे आयोजित कार्यक्रममा मन्त्री सुवेदीले यस्तो बताएका हुन् ।
‘प्रदेश सरकार सुतेको छैन्,’ उनले भने, ‘यस्ता भ्रामक सूचनालाई सत्य नमानिदिन आग्रह गर्न चाहन्छु । प्रदेश सरकार सुत्यो भने यहाँ त सवै त्यसै सुत्नेवाला छन् ।’ उनले कोरोना महामारी नियन्त्रणमा सबैभन्दा बढि काम नै प्रदेश सरकारले गरेको दावी गरे । ‘हामी जनताको सरकार । जनताप्रति उत्तरदायी सरकार । जनताकाबीचमा बाचा कवोल गरेर आएको सरकार । सुत्ने कुरै हुँदैन्,’ उनले भने । सुदूरपश्चिममा कोरोना संक्रमितको उपचारका लागि शय्या र अक्सिजनको चरम अभाव भएपछि प्रदेश सरकारले कुनै काम नगरेको र सरकार सुतेको आरोप लाग्दै आएको छ ।
यस्तै कार्यक्रममा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशवहादुर शाहले पनि कोरोना भाइरसको नियन्ग्त्रणमा प्रदेश सरकारले महत्वपूर्ण काम गर्दै आएको दावी गरे । उनले संघीय सरकारले कोरोना भाइरसको संक्रमण रोकथामका लागि प्रदेश सरकारलाई नसघाएको पनि आरोप लगाए ।
संघीय सरकारले महामारीमा पनि प्रतिशोधको भावना दर्शाएको बताउँदै उनले भने, ‘महामारी नियन्त्रणका लागि सुदूरपश्चिममा कुनै टोली संघीय सरकारले पठाएको छैन् ।’ यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सुदूरपश्चिम पठाएको टोलीलाई प्रदेश सरकारले फिर्ता पठाएको अभिव्यक्ति दिएका थिए । कार्यक्रममा कोरोनाको संक्रमण र मृत्यु दर रोकथाम तथा उपचारको प्रभावकारी व्यवस्थापनका विषयमा छलफल भएको उद्योग वाणिज्य संघ कैलालीका उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए ।