कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने
2021/05/17, 4:05
 
aa

दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण अक्सिजनको अभावमा ज्यान गुमाउनेको सङ्ख्या बढ्न थालेपछि कैलालीको लम्कीचुहा नगरपालिकाले मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको छ ।  सो नगरपालिकाले लम्कीचुहा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गर्ने भएको हो ।

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण अक्सिजन नपाएर नगरवासीको  अकालमा ज्यान नजाओस् भन्ने हेतुले नगरपालिकाको पहल र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा अक्सिजन प्लान्ट निर्माण गरिन लागिएको नगरप्रमुख महादेव बजगाईंले जानकारी दिए ।

नगरपालिकाले सामाजिक विकास मन्त्रालयलाई अक्सिजन प्लान्ट जडानका लागि आवश्यक बजेट विनियोजनको माग गर्दै यही जेठ २ गते सामाजिक विकास मन्त्रालयमा पत्राचार गर्दै आवश्यक पर्ने थप रकम  रु ५० लाख बजेट माग गरिएकामा तत्कालका लागि रु १५ लाख निकासा हुने नगरप्रमुख बजगाईंले बताए ।

करीब न्यूनतम रु ३० देखि बढीमा रु ५० लाख रकमले मिनी अक्सिजन प्लान्ट निर्माण गर्ने लक्ष्य राखेको जनाउँदै नगरप्रमुख बजगाईंले त्यसका लागि तत्काल प्रक्रिया अगाडि बढाइने बताए ।   लगत्तै काम शुरु गरी अक्सिजन मेशिन खरीदका लागि बोलपत्रलगायतको प्रक्रिया शुरु गरिने उनको भनाई छ ।