उमेरले ४० कटेका धनगढीका उदयनाथ योगी सेती अस्पतालका कार्यालय सहयोगी हुन् । कार्यालय सहयोगी भए पनि उनी अस्पतालको मर्मत शाखाका महत्वपूर्ण कर्मचारी पनि हुन् ।
उपकरणदेखि विजुलीमा कुनै समस्या भए अस्पताललाई उनको आवश्यकता महसुस हुने गर्छ । शनिबार टेलिफोन उनले भने, ‘सिलिण्डरमा अक्सिजन भर्ने, भरिएका सिलिण्डर बिरामीसम्म पुर्याउने र खाली सिलिण्डर भर्नका लागि ल्याउनेसम्मको जिम्मा मेरो काधमा छ ।
कोभिडको महामारीमा सबैभन्दा व्यस्त अस्पतालको मर्मत शाखा नै होला जस्तो लाग्छ ।’ बायोमेडिकल इक्युपमेन्ट टेसक्नसियन अरुण पनेरुको नेतृत्वमा मर्मत शाखाले कोभिड अवधिमा २४ घण्टा नै काम गरिरहेको उनले सुनाए ।
सुदूरपश्चिममा कागजमा सबैभन्दा ठूलो अस्पताल डडेल्धुरामा छ । तर त्यो अस्पतालमा न आवश्यक जनशक्ति छ न त उपकरण नै । त्यसैले प्रदेशकै रेफरल अस्पतालका रूपमा चिनिन्छ सेती प्रादेशिक अस्पताल । जहाँ डडेल्धुरा अस्पतालबाट पनि बिरामी रेफर हुन्छन् । नाम प्रादेशिक भए पनि सेती पनि कागजमा ५० शय्याको मात्रै अस्पताल हो ।
अस्पताल अहिले पनि ०४० सालको दरबन्दीमा चलिरहेको बताउँछन् अस्पतालका मेसु डाक्टर पाण्डेय । ‘५० शय्याको सरकारी मान्यता प्राप्त अस्पतालमा विकास समितले थप ७५ शय्या सञ्चालन गरिरहेको छ,’ डा. पाण्डेले भने, ‘कोभिड वार्ड र आइसीयू जोडेर हामी झण्डै तीन सय १० शय्या सञ्चालन गरिरहेका छौ ।’
कोभिड महामारीमा प्रदेशको सामाजिक विकास मन्त्रालयसंग समन्वय गर्दै जनशिक्त थपेर व्यवस्थापन गरिरहेको पाण्डेयले बताए । ‘यो अवधिमा २४ घण्टा नै खटेर कर्मचारीले काम गरिरहेका छन् । कोभिडको निदानमा सबै क्षेत्रबाट अस्पतालले सहयोग पाइरहेको छ,’ डा. पाण्डेयले भने ।
उनले कोभिड वार्डमा कार्यरत चिकित्सक, नर्सीङ कर्मचारी, आकस्मिक वार्ड, मर्मत शाखा, प्रयोगशाला, प्रशासन, स्टोरलगायत अस्पतालमा कार्यरत सम्पूर्ण कर्मचारी कोभिड महामारी नियन्त्रणमा अग्रपक्तिमा रहेर खटिएको बताए ।