धनगढीमा अक्सिजन प्लान्ट स्थापनाका लागि ऐश्वर्यका पुर्व विद्यार्थीहरुद्धारा दुई लाख ९० हजार सहयोग
2021/05/20, 11:17
 
dd

चौधरी फाउण्डेसन र धनगढी उपमहानगरपालिकाको साझेदारीमा अक्सिजन प्लान्ट स्थापना र अक्सिजन सिलिन्डरका लागि मेयर कल्याणकारी कोषमा धनगढीको ऐश्वर्य विद्या निकेतनका पुर्व विद्यार्थीहरुले झण्डै दुई लाख ९० हजार रकम सहयोग गरेका छन् । 

ऐश्वर्यको २०५० सालका पुर्व विद्यार्थीहरुले दुई लाख ८९ हजार ९ सय ३९ रुपैयाँ सहयोग गरेका हुन् । पुर्व विद्यार्थीहरुको तर्फबाट प्रतिनिधित्व गर्दै सुरेन्द्र शाही र पवन धनुसेले सहयोग रकम धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओडलाई हस्तान्तरण गरेका छन् । 

पछिल्लो समय धनगढीमा दिनप्रतिदिन अक्सिजन अभावका कारण कोरोना संक्रमितको मुत्यु हुने क्रम बढ्दै गएपछि विभिन्न संघ संस्था तथा व्यक्तीगत रुपमा आर्थिक सहयोग गर्ने क्रम जारी रहेको छ । धनगढी उपमहानगरपालिकामा बैशाख ३० गते नगर प्रमुख तथा नगर स्तरीय कोभिड–१९ समितिका संयोजक नृपबहादुर वडको अध्यक्षतामा बसेको बैठकले कोरोना नियन्त्रण तथा रोकथाम र व्यवस्थापनका लागि मेयर कल्याणकारी कोष स्थापना गरेको थियो ।

नगर प्रमुख वडले धनगढी उपमहानगरपालिकाको खाता नम्बर १४७०१०००३०७०२०००२ मा कोष अभिवृद्धि गर्नका लागि दातृ निकाय, मनकारी व्यक्ती तथा सहयोगी दाता, संघ संस्था, उद्योगी व्यवसायी, व्यापारी र राष्ट्रसेवक कर्मचारीलाई कोषमा सक्दो सहयोग गरिदिन समेत अनुरोध गरेका छन् ।