बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मर्कामा
2021/05/20, 11:34
 
dd

कोरोना भाइरसको संक्रमण उच्च रूपमा बढेपछि गरिएको बन्दाबन्दीका कारण कञ्चनपुरका कुखुरा व्यवसायी मार्कामा परेका छन्‌। उत्पादित कुखुरा र अण्डा बिक्री वितरण नहुँदा व्यवसायीले घाटा ब्यहोर्नुपरेको छ। कुखुरापालनव्यवसायमा संलग्न जिल्लाका एक हजार बढी किसानको व्यवसाय संकटमा परेको छ।

कुखुरापालनमा आवश्यक पर्ने दाना र औषधी लगायत आपूर्ति हुन नसक्दा अप्ठेरो परेको किसान पोल्ट्री सप्लायर्सका सञ्चालक किरण साउदले बताए ।धेरै व्यवसायीहरूले बैंक तथा सहकारी संस्थाबाट ऋण निकालेर कुखुरा व्यवसाय गरेको तर कुखुरा र अण्डा बजारमा बिक्री हुन नसकेपछि धेरै जनाले व्यवसाय नै छाड्न थालेको साउदको भनाई छ ।  

लेयर्स जातका कुखुरापालन गर्दै आएका व्यवसायी रेवन चौधरीले बन्दाबन्दी भएपछि अण्डाको व्यापार घट्दै गएको  जनाएको छ । अण्डा बिक्री नहुँदा घरमै थन्क्याउने अवस्था आएको, कुखुराको आहारा र औषधीका लागि मात्रै लगानी बढाउनुपरेको र लागत खर्च निकै बढ्दा घाटा हुने अवस्थामा पुग्दा कुखुरापालन  व्यवसाय नै छाड्नुपर्ने अवस्थामा आफूहरू पुगेको  साउदले बताए।

खाद्यान्न र तरकारी लगायत अत्यावश्यक खाद्यवस्तु जस्तै कुखुराको मासु र अण्डा बिक्रीका लागि समेत स्थानीय प्रशासनले व्यवस्था मिलाइदिनुपर्ने व्यवसायीहरूको माग रहेको छ।स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गरी अण्डा, मासु बिक्रीको प्रबन्ध गरिए व्यवसाय घाटामा जानबाट बच्ने स्थानीय व्यवसायीहरूको भनाई छ । 

जिल्लामा उत्पादित कुखुरा र अण्डाको कारोबार सुदूरपश्चिमका कञ्चनपुर कैलाली सहित पहाडी जिल्लासम्म हुने गरेको छ। बन्दाबन्दीका कारण कुखुरा व्यवसायीहरूले उत्पादित कुखुरा र अण्डा बाह्य क्षेत्रमा आपूर्ति गर्न सकेका छैनन्।