महाकालीमा निर्माणाधानी ४ लेन पुलको मेसिन सहितका सामाग्री बगे, १० कामदारको उद्धार
महाकाली नदीमा पानीको बहाब बढ्यो
2021/05/21, 2:20
 
dd

अविरल वर्षाका कारण महाकाली नदीमा पानीको सतह बढेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले २ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेकोले नदीको तटीय क्षेत्रका स्थानीयहरुलाई सतर्क रहन आग्रह गरेका छन् । पानीको सतह बढ्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का प्रभावित भएकोे छ ।

यता निर्माणधिन महाकाली ४ लेन पुलको मेसिन सहित प्लान्ट बगेको छ । २ दिन परेको लगातारको वर्षाका कारण नदीमा पानीको बहाब बढ्दा पुल निर्माणको काम पनि प्रभावित भएको छ । पानीको बहाब बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाइएको प्लान्ट, कालोपत्रे गर्ने मेसिन सहितका उपकरण बगाएको भीमदत्त नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष लालबहादुर शाहीले जानकारी दिए । 

निर्माण कम्पनीलाई करोडौंको क्षति भएको छ भने निर्माणको काम रोकिएको छ । करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ । यसैबीच पुलमा काम गर्ने १० कामदारको समेत उद्धार गरिएको छ । नदीको बीचमा रहेको टापुमा कामदार फसेका थिए । पानीको बहाब घटेपछि उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।