राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचन घोषणा गर्नुलाई विपक्षी दलका नेताहरूले असंवैधानिक कदम भनेका छन्। राष्ट्रपतिबाट संविधान च्यात्ने काम भएको उनीहरूको भनाइ छ।
नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि पेश गरेको दाबी नपुग्ने भन्दै शुक्रबार राति राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्न अस्वीकार गरेकी थिइन्। त्यसलगत्तै मध्यराति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन गर्न सिफारिश गरेको थियो। मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरी २६ कात्तिक र ३ मंसिरमा चुनाव घोषणा गरेकी छिन्।
यसलाई विपक्षी दलका नेताहरूले असंवैधानिक कदम भनेका छन्। कांग्रेस नेता शेखर कोइरालाले ट्वीट गर्दै संविधानलाई समाप्त पार्ने काम भएको बताएका छन्। उनले भनेका छन्, “आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो। राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको छ। संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।”
त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले यसलाई षड्यन्त्रको संज्ञा दिएका छन्। उनले ट्वीट गर्दै भनेका छन्, “भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधी चुनाव हैन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो। एकजुट होऊँ! प्रतिवाद गरौं!”
त्यस्तै, कांग्रेस नेता रमेश लेखकले संविधान च्यात्ने काम भएको प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, “राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संम्विधान च्यात्ने काम गरिन्। यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।”
नेकपा (माओवादी केन्द्र) नेता वर्षमान पुनले पनि यसलाई ‘मध्यरातको डकैती’ भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, “मध्यरातमा डकैती गरियो। ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।”