प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संसद् विघटनविरुद्ध राजनीतिक र कानुनी लडाईँ लड्ने भएको छ ।
त्यसको तयारी भइरहेको कांग्रेस नेता रामचन्द्र पौडेलले बताए । उनले प्रधानमन्त्रीको यो कदमलाई जालसाजीपूर्ण भनेका छन् ।
“यो एकाएक आएको होइन, अस्ति बेलुकादेखि तानाबाना बुनिँदै थियो । यो अहिलेको मात्रै घटना होइन । सुरुदेखि नै यो संसद फाल्ने, परिवर्तनलाई उल्ट्याउने, संविधान फाल्ने, समावेशी लोकतन्त्रलाई सिध्याउने गरिएको थियो, यो त्यसैको निरन्तरता पनि हो,” उनले भने ।
उनले अहिलेको अवस्थामा कसरी चुनाव हुन सक्छ भन्दै प्रश्नसमेत गरे । “हामी कानुनी र राजनीतिक लडाईं लड्छौं । शव गाड्न जनताले साथ पाएका छैनन् । आर्यघाटमा शव जलाउन सकिने अवस्था छैन,” उनले भने, “जनतालाई औषधि किन्ने पैसा नभएको बेलामा चुनाव किन ?”
उनको आक्रोश राष्ट्रपतिप्रति पनि थियो । “राष्ट्रपतिले जसरी अभिभावकको भूमिका खेल्नुपर्थ्यो, त्यो हुन सकेन । खोई संविधानको माया ? प्रधानमन्त्री त म नभएपछि कोही हुँदैन भन्ने लाइनमा थिए । उनी तानाशाही बाटोमै थिए, राष्ट्रपति किन सहयोगी बनेको ?,” उनको प्रश्न थियो ।