धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्दै
2021/05/22, 12:51
 
dd

धनगढीको माया मेट्रो हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्ने भएको छ । गुणस्तरीय स्वास्थ्य सेवा दिदैं आएको धनगढी चटकपुरमा रहेको माया मेट्रो हस्पिटलले अक्सिजन प्लान्ट जडानका लागि खरिद प्रक्रिया अघि  बढाउँदै सम्झौता समेत गरिसकेको छ ।

कोरोना महामारीको समयमा अस्पतालले विरामीहरुको उपचारमा अक्सिजन अभावको समस्या चरम रुपमा झेलेकोले आफ्नै लगानीमा अक्सिजन प्लान्ट निर्माणका लागि खरिद प्रक्रिया अघि  बढाउँदै  सम्झौता गरेर काम अगाडी बढाईएको   हस्पिटलका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए । 

1

अध्यक्ष सावदका अनुसार हस्पिटलमा अबको २५ दिनमा अक्सिजन प्लान्ट जडान भएर सञ्चालनमा आउनेछ । अक्सिजन प्लान्टको क्षमता प्रति दिन ५० सिलिण्डर रहेको छ । झण्डै ७५ लाखको लगानीमा अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया अघि बढाईएको छ । माया मेट्रोमा अक्सिजन प्लान्ट जडान भएमा यो अस्पताल आफ्नै अक्सिजन प्लान्ट भएको सुदूरपश्चिमको पहिलो निजि अस्पताल हुनेछ । 

अक्सिजन र शैय्या अभावमा पनि छुट्टै वार्डमा उपचार
धनगढी स्थित माया मेट्रो अस्पताल पछिल्लो कोरोना महामारीको समयमा श्वास प्रश्वास सम्बन्धीका बिरामीहरुले भरिएको छ । कोरोना सम्बन्धी लक्षण भएका बिरामीहरुले अस्पताल भरिएको छ । सरकारले निजी अस्पतालहरुलाई २० प्रतिशत जति कोरोनाका बिरामीहरुको उपचार गर्नुपर्ने भनेपछि निजी अस्पतालहरुले पनि कोभिडका बिरामीको उपचार थालेकोमा माया मेट्रोले त्यसलाई अझ बढी प्राथमिकतामा राखेर सेवा दिदैं आएको छ । 

1

माया मेट्रो अस्पतालले कोरोना संक्रमित बिरामी, सो सँग सम्बन्धित लक्षण भएका बिरामी र अन्य बिरामीहरुको छुट्टाछुट्टै वार्डमा उपचार गरिरहेको छ । बिरामीहरुको संख्या एकदमै बढेपछि अहिले भुइँमै राखेर भएपनि उपचार गर्नुपर्ने अवस्था आएको माया मेट्रो अस्पतालका अध्यक्ष साउँदले बताए । एउटै वार्डमा कोभिड र ननकोभिडका बिरामीलाई राखेर उपचार गर्न जटिल रहेकोले अलग अलग राखेर उपचार गरिरहेको उनले बताए ।

कोरोनाको मापदण्ड अपनाई अन्य सेवाहरु पनि सुचारु रहेको छ । शल्यक्रिया सहितका सबै सेवाहरु सुरक्षा मापदण्ड अपनाएर सुचारु रहेको उनले जानकारी दिए । अहिले माया मेट्रो अस्पतालमा १० जना कोरोना संक्रमितको उपचार भईरहेको छ । अस्पतालबाट ४२ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै अक्सिजन अभावकै कारण माया मेट्रो अस्पतालमा हालसम्म ४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

आफ्नै बलबुतामा बिरामी जोगाउँदै अस्पताल  
सुदूरपश्चिममा अक्सिजन प्रर्याप्त रुपमा आपूर्ति नहुँदा बिरामीको ज्यान जोगाउनै मुस्किल भईरहेको अध्यक्ष सावदको दुखेसो छ । ‘हामीसँग जनशक्तिको अभाव छैन तर पर्याप्त अक्सिजन नहुँदा उपचारमा समस्या धेरै समस्या भईरहेको छ ।’ उनले भने– ‘धनगढीबाट मात्रै होईन । अन्य स्थानका साथै नेपालगंजबाट पनि अक्सिजन मगाएर विरामीहरुको ज्यान बचाउन लागिरहेका छौं । त्यो प्रयासले यहाँ आएका धेरै कोरोना संक्रमितहरुको ज्यान पनि बँचेको छ ।’ 

1

अहिले माया मेट्रोमा दैनिक ४० देखि ५० अक्सिजन सिलिण्डरको आवश्यकता पर्छ । तर अस्पतालले ३÷४ दिनको अवधिमा १५÷१६ थान अक्सिजन सिलिण्डर मात्रै पाइरहेको छ । ‘अहिले निजी अस्पतालहरुमा अक्सिजनको मात्रा शुन्य छ, मुख्य समस्या अक्सिजनको छ ।’ माया मेट्रो अस्पतालका अध्यक्ष साउँद भन्छन्–‘आईसीयूमा पनि राखेर के गर्नु जब अक्सिजन नै छैन भने । मृत्यु दर बढ्नु पनि अक्सिजन अभावकै कारण हो । त्यही भएर हामीले आफ्नै अक्सिजन प्लान्ट निर्माणको प्रक्रिया थालेका हौं ।’

अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भएमा अक्सिजन अभावको समस्या केही कम हुने अपेक्षा गरिएको छ । अरुमाथि रहेको परनिरभरता पनि हट्ने आशा राखेको सावदको भनाई छ ।  ‘अक्सिजनको लागि बाहिर अरुमा निर्भर नहुन र सुदुरपश्चिमका जनता तथा आफ्नो सेवाग्राहीहरुलाई सगज र गुणस्तरी सेवा दिनको लागि हाम्रा प्रयासहरु जारी छन् ।’ उनले भने– ‘अबका दिनमा कोरोनाले अझै निम्ताउन सक्ने जोखिम तथा अरु महामारीसँग जुध्नका लागि सेवा थप पनि गर्दै जाने योजनाका साथ अगाडी बढेका छौं ।’ 

2

सिटिस्क्यानपछि न्युरो सेवा पनि थप
अस्पतालमा सिटिस्क्यान सेवा सुरु भएपछि विरामीहरुलाई राहत भएको छ । अस्पतालमा आउने विरामीको लागि सुविधाको लागि थालिएको सेवाले विरामीहरु लाभान्वित भएका छन् । अस्पतालले ६४ स्लाईसको सिटिस्क्यान मेसिनबाट सेवा दिईरहेको छ । झण्डै ३ करोडको लगानीमा सिटिस्क्यान सेवा सुरु गरेपछि सिटिस्क्यान गराउनको लागि बाहिर पठाउन पर्ने बाध्यता अन्त्य भएको छ ।

2

सिटिस्क्यानपछि अस्पताले अहिले न्युरो सम्बन्धी सेवा पनि थप गरेको छ । गएको तीन महिनादेखि अस्पतालमा न्युरो सेवा उपलब्ध रहेको छ । हालसम्म यसक्षेत्रका अस्पतालमा नरहेको सो सेवाबाट पनि विरामीहरुलाई राहत भएको छ । न्युरो सेवालाई अझ प्राथमिकतामा राखेर अस्पतालमा थप सेवाहरु विस्तार भईरहेको सावदले जानकारी दिए । 

थपिदैं अत्याधुनिक स्वास्थ्य सेवा
धनगढीमा विशेषज्ञ चिकित्सक सहितको अत्याधुनिक सुविधा दिदैं आएको माया मेट्रो अस्पताल २५ शैय्यामा सञ्चालनमा रहेको छ । चाडै नै एक सय शैय्यामा स्तरोन्नति गर्नका लागि प्रक्रिया अगाडी बढाईएको छ । एक सय शैय््याको भएमा सबैभन्दा बढी शैय्याको ठुलो निजि अस्पताल समेत बन्नेछ । 

अस्पतालमा हाल विभिन्न किसिमका बिशेषज्ञ सेवाहरु उपलब्ध रहेका छन् । नवजात शिशु तथा बालरोग, प्रसुती तथा स्त्रीरोग, हाडजोर्नी तथा नशा, जनरल फिजिसियन, न्युरो, जनरल सर्जरी, थेरापी, दन्त लगायतका बिशेषज्ञ सेवाहरु अस्पतालले दिदैं आएको छ ।

2

अस्पतालमा २४ घण्टा आकस्मिक तथा ट्रमा सेवा, बहिरङ्ग तथा अन्तरङ्ग सेवा, अत्याधुनिक प्रयोगशाला, अत्याधुनिक डिजिटल भिडियो एक्सरे तथा सिटी स्क्यान सेवा, आईसियु, एनआईसियु, पिआइसियु सेवा, वातावरण अनुकूल क्याबिन, दूरबिन तथा बिना दूरबिन शल्य चिकित्सकीय सेवा, चौबिसै घण्टा फार्मेसी लगायतको स्वास्थ्य उपलब्ध रहेको छ ।