गौरीफन्टा नाकाबाट एक वर्षमा १९८ जनाको उद्धार
2021/05/22, 4:51
 
dd

कैलालीको गौरीफन्टा नाकाबाट पछिल्लो एक वर्षमा १९८ जना महिला तथा बालिकाको उद्धार गरिएको छ । विभिन्न बहानामा भारत लैजादै गरेका अवस्थामा उनीहरुलाई उद्धार गरिएको त्रिनगरनाकामा रहेको जिल्ला शान्ति पुर्नस्थापना गृहले जनाएको छ । यसरी उद्धार गरिएका महिला तथा बालबालिकामा कैलाली, कञ्चनपुरकामात्रै नभइ धनुषा, सिरहा, सर्लाही, बाँके र चितवन सम्मका रहेका छन् ।

उद्धार गरिएका अधिकांश १४ वर्षदेखि १९ वर्षमुनिका किशोरी छन् । बैशाख महिनाभरी भारत लगिदै गरेका १५ जनालाई नाकाबाट र ५ जना यौन हिंसामा परेकालाई  उद्धार गरिएको शान्ति पुर्नस्थापना गृहका जिल्ला संयोजक उमेश शिवाकोटीले बताए  । कैलालीमा बैशाख १६ गतेदेखी जारीे निषेधाज्ञामा चार जनालाई प्रहरीले उद्धार गरेको छ ।

उद्धार गरिएका मध्ये दुई जना कैलालीका, एक जना चितवन, र एकजना सर्लाहीका छन् । उद्धार गरिएका महिला तथा किशोरकिशोरीलाई शान्ति पुर्नस्थापना गृहले सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाउने गरेको छ । महिला तथा बालबालिका बेचबिखन तथा हिंसामा पर्नेक्रम रोकिएको छैन् । सामाजिक संजालबाट कुराकानी हुने र प्रेमको नाटक गरेर भारततिर लग्ने गरेको बताइएको छ । 

महिला तथा बालबालिकालाई भारतिर लग्नेमा विवाहित पुरुष रहेको बताइएको छ । घरमा श्रीमती हुदाहुदै पनि उनीहरुले विवाहको प्रलोभनमा पारेर महिलालाई भारततिर लग्ने गरेको शान्ती पुर्नस्थापना गृहका जिल्ला संयोजक शिवाकोटीले बताए । गरिबी, अशिक्षा तथा बेरोजगारीका कारण पनि यस्ता घट्नाहरु रोकिएको छैन । भारत पुग्ने महिला तथा किशोरीहरु शारीरिक, मानसिक तथा यौन शोषण पर्ने गरेका छ्न । यसैबीच, गृहले एक वर्षको अवधिमा ५ हजार ५८८ जनालाई काउन्सीलिङ गरेको छ ।