एमालेबाट निष्कासनपछि भीम रावलको प्रतिक्रिया: ‘निष्कासित गरियो भन्नु हाँस्यास्पद’
2021/05/24, 8:11
 
Rh

नेकपा एमालेले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि प्रतिक्रिया जनाउँदै नेता भीम रावलले कारवाही हाँस्यास्पद भएको जनाएको छ ।

सामाजिक सञ्जाल ट्विटरमा लेख्दै नेता रावलले कारवाही केपी गुटको फुटवादकै निरन्तरता भएको टिप्पणी गरेका छन्  रावलले लेखेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने, देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हाँस्यास्पद छ । यो केपी गुटको फुटवादकै निरन्तरता हो ।’

प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बसेको एमाले स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेतामाथि कारवाही गरेको छ ।

नेता नेपालसहित झलनाथ खनाल, भीम रावल लगायतलाई पार्टी सदस्यबाटै निष्कासन गरेको छ । पार्टी सदस्यबाटै निष्कासन गरिएका नेताहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्का रहेका छन् ।

पार्टीविरुद्ध गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले पार्टीबाटै निष्कासन गर्ने निर्णय गरिएको छ ।

पार्टी वरिष्ठ नेता नेपाल पक्षका ११ नेतालाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेसँगै थप १२ नेतालाई स्पष्टीकरण सोधेको छ ।
 
नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

पार्टीको निर्देशनविपरीत कार्यकर्ता भेला गरेको भन्दै नेता नेपाल, रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई चैत्र १० गते ६ महिनाका लागि निलम्बन गरिएको थियो । तर पार्टी एकता कायम राख्ने भन्दै वैशाख ३० गते कारवाही फिर्ता लिइएको थियो । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’विरुद्ध उम्मेदवार खडा गरेको र मतदान गराएको आरोप नेपाल पक्षमाथि लगाइएको छ ।