वनमन्त्री आले भन्छन्,–‘स्वास्थ्य विभागले १५ वटा अक्सिजन सिलिण्डर मात्रै दिएको हो’
2021/05/25, 10:25
 
aa

वनमन्त्री प्रेम आलेले व्यक्तीगत लगानीको सिलिण्डरमा आफ्नो फोटो टाँसेको दावी गरेका छन् । मंगलबार विहान सेती प्रादेशिक अस्पतालमा सिलिण्डर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै उनले यस्तो दावी गरेका हुन् । स्वास्थ्य विभागले १५ वटा मात्रै सिलिण्डर दिएको र बाँकी ११० सिलिण्डर व्यक्तीगत लगानीमा नै किनिएको आलेको दावी रहेको छ । 

 अनुदानमा चीनबाट ल्याइएको अक्सिजन सिलिण्डरमा पनि व्यक्तिगत लगानी भनेर पोस्टर टाँसेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका वेल आलेले आफुले १५ लाख रुपैयाँ अग्रीम भुक्तानी दिएर चीनबाट सिलिण्डर बगाईएको र आफ्नै लगानीमा भरेर पठाएको ठोकुवा समेत गरेका छन् । ‘पटक पटक ताकेता गर्दा पनि पाउन नसकेपछि १५ दिन अगाडी १५ लाख रुपैया प्रसनल डिपोजिट गरेर अक्सिजन सिलिण्डर कम्तिमा धनगढी र डोटीलाई ५०÷५० दिनुपर्छ भनेर चाईनबाट सिलिण्डर आयो ।’ वनमन्त्री आलेले भने– ‘हामीले काठमाण्डौबाट नै भरेर ल्याएका हौं । खाली सिलिण्डर ल्याएमा भर्न फेरि ७ दिन लाग्छ भनेर मैले व्यक्तीगत रुपमा ११० वटा सिलिण्डर किनेर ल्याएको हुँ ।’

सोमबार डोटीमा ७५ वटा सिलिण्डर वितरण गरिएकोमा त्यसमा ६० वटा आफ्नो व्यक्तीगत लगानीको रहेको र १५ वटा स्वास्थ्य विभागले दिएको रहेको उनको दावी रहेको छ । ‘डोटीका लागि ७५ र कैलालीका लागि ५० वटा अक्सिजन सिलिण्डर वितरण गरेको छु । त्यसमा १५ वटा स्वास्थ्य सेवा विभागले दिएको हो । बाँकी एक सय १० वटा मैले आफ्नै रकमले खरिद गरेको हुँ ।’ मंगलबार विहान सेती प्रादेशिक अस्पतालमा आयोजित स्वास्थ्य सामागी वितरण कार्यक्रममा आलेले भने ।  

डोटी र कैलालीमा वितरण गरेका अक्सिजन सिलिण्डरदेखि औषधीका प्याकेटमा पनि आलेले आफ्नो तस्बिर टाँसेका छन् । उनले चीनबाट अनुदानमा ल्याएर स्वास्थ्य सेवा विभागले दिएका अक्सिजन सिलिण्डरमा पनि आफ्नै तस्बिर टाँसेका छन् । मन्त्री आलेको निजी सचिवालयमा कार्यरत प्रशासन सहायक भक्त आलेले स्वास्थ्य सेवा विभागले दिएका सिलिण्डरमा पनि अक्सिजन फिलिङ मन्त्रीको व्यक्तिगत खर्चबाट गरिएकोले तस्बिर टाँसिएको बताए । उनका अनुसार कैलाली र डोटीका लागि मन्त्री आलेले स्वास्थ्य सामाग्रीका लागि ६० लाख बढी खर्च गरेका छन् ।