सेती अस्पतालमा ४०औं दिन रोकियो मृत्यु शृंखला
2021/05/29, 10:03
 
dd

सेती प्रादेशिक अस्पतालमा बिहीबार एकै जना कोरोना संक्रमितले ज्यान गुमाएनन् । यससँगै अस्पतालमा लगातार ४० दिनदेखिको मृत्यु शृंखला तोडिएको छ ।  बिहीबार साँझ अस्पताल परिसरमा डा. नीराजनदत्त शर्मा भन्दै थिए, ‘अब केही सजिला दिन फर्केलान् कि भन्ने आस जागेको छ । संक्रमित पनि घट्न थालेका हुन् कि ?’ सेती अस्पतालमा गत वैशाख ४ देखि हरेक दिनजसो संक्रमितको मृत्यु भइरहेको थियो । वैशाख २० गते एकै दिन आठ जनाले ज्यान गुमाएका थिए ।

‘४० दिनसम्म केही अनुभूति नै गर्न पाइएन । हाम्रो टिम रेल कुदेजसरी दौडिरह्यो,’ पौडेलले भने, ‘संक्रमितलाई जति प्रयास गर्दा पनि बचाउन नसक्दा युद्ध हारेजस्तो फिल हुन्थ्यो । आज बल्ल त्यो चेन ब्रेक हुँदा खुसी लागेको छ ।’ पौडेल कोरोना संक्रमणको महामारी सुरु भएर संक्रमित अस्पतालमा भर्ना भएको पहिलो दिनदेखि नै उपचार तथा रेखदेखमा खटिएका कन्सल्ट्यान्ट फिजिसियन हुन् । उनले विगतमा चुकेको अवस्थाको समीक्षा गर्दै तेस्रो लहर नियन्त्रणको तयारी अहिल्यैदेखि सुरु गर्नुपर्ने पनि बताए ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे पनि यो अवधिमा निकै तनाब खेप्नुपरेको बताउँछन् । ‘एकै दिन ८ जनाको मृत्यु भएपछि हामी निकै आत्तिएका थियौं,’ उनले भने, ‘त्यस बेला बिरामीले आवश्यक अक्सिजन पाउन नसकेर पनि ज्यान गुमाउनुपर्दा हदैसम्मको तनाब खेप्नुपरेको थियो ।’

अस्पतालका सूचना अधिकार दिलीप श्रेष्ठका अनुसार दोस्रो लहर सुरु भएपछि वैशाख ४ गते सेती अस्पतालमा पहिलोपटक एक संक्रमितको ज्यान गएको थियो । त्यसयता कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २९ पुग्यो । पहिलो चरण भनिएको पोहोर साल ३४ जना संक्रमितको मृत्यु भएको थियो । ‘आज पहिलो पटक मृत्यु हुनेको संख्या उल्लेख गर्नुपर्ने कोलममा शून्य अंक लेख्न पाउँदा हामीलाई साहस बढेको छ,’ श्रेष्ठले भने ।

अस्पताल भर्ना हुन आउने संक्रमितको संख्या पनि पहिलेभन्दा घटेको छ । बिहीबार ६ जना संक्रमित मात्रै भर्ना भएको अस्पतालले जनाएको छ । अहिले कुल ४४ बिरामी मात्रै उपचाररत रहेको सूचना अधिकारी श्रेष्ठले बताए । ‘आज २८ जना बिरामी निको भएर घर फर्केका छन्,’ उनले भने, ‘बुधबार ६६ जना उपचाररत रहेकोमा निको भएर घर फर्कनेको संख्या शून्य थियो ।’

गत वैशाख ४ गते सेती प्रादेशिक अस्पतालमा ८९ जनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको थियो । बिहीबार ८ सय ११ जनामा परीक्षण गर्दा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । जेठ १ गते सबैभन्दा धेरै ५ सय ५५ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।