सुदूरपश्चिमको एमाले संसदीय दलले ओली पक्षका सासंदलाई सोध्यो स्पष्टीकरण 
2021/05/30, 9:59
 
dd

नेकपा एमाले सुदूरपश्चिमको संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओली पक्षका सासंदलाई स्पष्टीकरण सोधेको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले ओली पक्षका सासंद तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई स्पष्टीकरण सोधेको हो ।

‘१२ गते धनगढीमा सम्पन्न नेकपा एमाले सुदूरपश्चिम प्रदेश, प्रदेशसभा दलको बैठकमा तपाई स्वयमको उपस्थितीमा भएका निर्णयहरुका विरुद्ध तपाईले दिनुभएका सार्वजनिक अभिव्यक्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ स्पष्टीकरण पत्रमा भनिएको छ ।

बोहरालाई संसदीय दलको बैठकले गरेका निर्णय कार्यान्वयनमा बाधा पुगाउँदै गुटबन्दी गरेको, संसदीय दलका अन्य सदस्यलाई उक्साउने र भड्काउने काम गरेको, जनताको हितमा प्रभावकारी काम गर्न खोज्दा बाधा पुगाएको आरोप लगाइएको छ । १६ गते साँझ ५ बजेसम्म चिक्तबुझ्दो स्पष्टीकरण नआए संसदीय दलको विधान २०७७ अनुसार कारवाही हुने स्पष्टीकरणमा उल्लेख गरिएको छ ।

माओवादी नेतृत्वको प्रदेश सरकारबाट फिर्ता हुने पार्टीको स्थायी कमिटी र प्रदेश कमिटीको निर्णयविपरित सुदूरपश्चिमको संसदीय दलले १२ जेठमा वर्तमान सरकारलाई दिएको समर्थत यथावत राख्ने निर्णय गरेको थियो । उक्त संसदीय दलको बैठकमा ओली पक्षका सासंद बोहरा पनि सहभागी थिए । उनले संसदीय दलका नेता शाहले एकलौटी गर्न खोजेको आरोप लगाएका थिए ।