सुदूरपश्चिममा डेंगुका दुई बिरामी फेला
2020/03/14, 5:21
 
dendu

गर्मीको मौसम सुरु भएसँगै सुदूरपश्चिममा डेंगुका बिरामी फेला परेका छन्। प्रदेशको कैलाली र डडेल्धुरामा एक/एक बिरामी फेला परेको महामारी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ। 

केही वर्ष यतादेखि प्रदेशका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्। गत वर्षपनि सुदूरपश्चिम प्रदेशमा यो रोगका थुप्रै बिरामी फेला परेका थिए। 

गत वर्षपनि सुदूरपश्चिम प्रदेशभर ५३ जनामा डेंगुको संक्रमण फेला परेको थियो। डेंगुबाट दिपायल सिलगढी नगरपालिका–६ थाप्लाकी ४२ वर्षीया छत्र मलासीको मृत्यु समेत भएको थियो। केही वर्ष यतादेखि प्रदेशका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्।

के हो डेंगु?
डेंगु एक प्रकारको ज्वरो हो। यो लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक रोग हो। डेंगुको भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ। यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी पाइने गर्दछ।

यसले स–साना सफा पानी जमेको स्थानमा फुल पार्ने गर्दछ। खास गरी वर्षाको पानी जम्ने टीनका डब्बाहरू, रंगका खाली डब्बा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, फुलदानी, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्दछ। 

लक्षण:
– असाध्यै टाउको दुख्ने।
–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने।
–ढाड, जोर्नी तथा मांसापेशिहरू दुख्ने।
–शरीरमा विमिरा आउने।
–वाकवाकी लाग्ने।
-पेट दुख्ने।
-नाक वा गिजाबाट रगत बग्ने।
-रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ।

बच्ने उपाय:
–डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्छ।
–पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरू आदिमा पानी जम्न नदिने।
–पानीको ट्याङ्किलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने।
–कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्ने।
–फुलदानिमा रहेको पानी हप्तामा दुई पटक फेर्ने।
–यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरिर ढाकिने लुगा लगाउनुपर्छ।
–सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नु पर्छ, साथै साना केटाकेटिलार्य जुनसुकै समयमा पनि झुल भित्र सुताउनु पर्दछ।
–लमखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ।
–घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ।
–घर वरिपरि सफा सुग्घर राख्ने, पानी जम्ने खाल्टा खुल्टी पुर्ने गर्नु पर्छ।