लगातारको वर्षाले चैते धान भित्र्याउनै पाएनन् किसानले
2021/06/26, 5:03
 
dhan

लगातारको वर्षाले धान भित्र्याउन नपाएको उनीहरूको भनाइ छ। डुबानले गर्दा बर्खे धान फल्न छोडेपछि  कैलालीका विभिन्न क्षेत्रका किसान चैते धानमा आकर्षित भएका छन्। तर, यो वर्ष किसानलाई चैते धान भित्र्याउन पनि हम्मे परेको छ।

अहिले भजनी लगायत चैते धान लगाएका फाँट पहेँलै देखिन्छन्। तर, धान भित्र्याउने वेला परेको अविरल वर्षाले चैते धान पनि डुबानमा पर्ने हो कि भन्ने चिन्तामा छन् किसानहरू। 

भजनी–८ का तुलाराम काफ्ले चैते धान पनि डुबानमा पर्ने जोखिम रहेको बताउँछन्। “बर्खे धान डुबानमा पर्ने भएकाले चैते धान रोप्न थालेका हौं,” उनी भन्छन्, “लगातारको वर्षाले चैते धान पनि भित्र्याउन पाइँदैन कि जस्तो लाग्न थाल्यो।” भित्र्याइसकेको अलि अलि धान सुकाउन नपाउँदा ढुसी पर्न थालेको उनको भनाइ छ।

भजनीकै जयप्रसाद ढुंगाना होचो ठाउँका खेतमा बाढी पस्न थालेको बताउँछन्। “खोलाको छेउछाउ र होचो ठाउँमा बाढी पसिसकेको छ, पानी पर्न नरोकिए अन्य ठाउँको धान पनि भित्र्याउन पाइँदैन।” समयमै शुरू भएको वर्षाद्‌ले बर्खे बाली लाउनेलाई सहज भए पनि चैते बालीलाई नोक्सान पुर्‍याएको ढुंगानाको भनाइ छ।

भजनी–८ सुनाफाँटाकी राधा ढुंगानाले यो वर्ष करीब दुई बिघा क्षेत्रफलमा चैते धान रोपेको बताइन्। “पहेँलो भइसकेको धान भित्र्याउन ढिला भइसक्यो,” उनी भन्छिन्, “तर, पानीले खेतमा पस्नै दिंदैन।” 

लगातारको पानीले गर्दा भजनी–३ का चन्द्रबहादुर साउदले थोरै धान मात्र भित्र्याउन पाएका छन्। उनले भने, “खेतको धान खेतमै र भित्र्याएको धान ढुसीले सखाप होला जस्तो भयो।”

कैलालीको बाढी प्रभावित क्षेत्रका किसानले बाढीबाट जोगिन चैते धान रोप्दै आएका छन्। यो वर्ष भजनीमा करीब ५०० बिघा क्षेत्रफलमा चैते धानको खेती गरिएको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरीले जानकारी दिए। 

जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार विभाग अधिकृत जनक बोहराका अनुसार जिल्लाभर १ हजार ५० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको छ। जसमध्ये अधिकांश क्षेत्र भजनी र जोशीपुरमा पर्छ।