सुदूरको भुस्वर्ग खप्तड एक, सौन्दर्य अनेक
2021/07/05, 3:36
 
aa

सीताराम ओझा

सुदूरपश्चिमको भूस्वर्ग खप्तडका फरक अनुहार
हरेक मौसम र ऋतुमा आउँछ प्रकृतिको बहार ।
कहिले पाटन रंगीचंगी भुईंफूलले ढाकिन्छन् 
कहिले पुरै पाटन हिउँ नै हिउँले छोपिन्छन् । 
कहिले सात थरी लालीगुरास फुल्छन् 
प्रकृतिका रंगहरु प्रकृतिकै काखमा डुल्छन् ।  
जो पनि खप्तडको सौन्दर्यताले मोहित हुन्छन् ।।

माथि उल्लेख गरिएका हरफहरुले मात्रै केही सौन्दर्यता वर्णन गरेको हो खप्तडको । जता हे¥यो उतै हरिया फाँटहरू र ती फाँटहरूमाथि थपक्कै बसेका थुम्काहरू । पर्सियन कार्पेट ओछ्याएझैं थरीथरी फूलहरू र ती फूलहरूमाथि झुम्मिरहेका रङ्गीविरङ्गी पुतलीहरू । चारैतिर कलमी गरेझैं लाग्ने घना जङ्गल र जङ्गलभित्र नौरङका लालीगुराँस । अनि, सुगन्धित जडीबुटी र हरिया घाँसे मैदान ।

1

डोटी, अछाम, बझाङ र बाजुराको संगम खप्तड पुग्नेहरू हत्तपत्त घर फर्कन मान्दैनन् । त्यही हरियो पाटनमा लडीबुँडी खेलिरहुँझैं लाग्छ ।  छिनमै वर्षात र छिनमै हिउँ ।  केहीबेरमै मान्छे उडाउँला झैं हावाहुरी त केहीबेरमै छिप्पिँदो घाम । अलि लम्किँदा छोइएला झैं लाग्ने हंसमुख हिमालहरू । खप्तड बाबाको कुटीको ठीक पछाडि उभिरहेझैं देखिने अपि र सैपाल हरदम हाँसिरहेझैं लाग्छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो ।

3

क्षण–क्षणमा मौसम परिवर्तन भइरहने खप्तडलाई हिउँको राजधानी, लालीगुराँसको बगैँचाका रूपमा पनि चिनिन्छ । खप्तडमा न्यूनतम पूर्वाधारको समेत विकास हुन सकेको छैन । यसैले, पर्यटकहरू कमै पुग्छन् । तर, खप्तडको विशेषता नै यसको दुरुह भूचित्र हो ।  यो अनकन्टार ठाउँमा छ, यसैले मानवीय क्रियाकलापबाट पनि अक्षुण्ण प्रायः छ । लाग्छ– यहाँ मानव द्वेष, लालच र भोकको कणहरू समेत छैनन् ।  

प्राकृतिक सौन्दर्यता थरि थरिका
प्राकृतिक नागढुंगा, केदारढुंगा, पुराना मठ–मन्दिर, बागबुट्टे निगालो, पाँचऔंले, बझाङी पादेखि हरियो छेपारोसम्म पाइने खप्तडले तीर्थालुदेखि अनुसन्धान गर्नेसम्मलाई लोभ्याउन सक्छ । डाँफेकोट, घोडादाउने पाटन र खप्तड दहमा पुगेर प्राकृतिक आनन्द लिने कुरा त खप्तडको विशेषता नै हो । ३ हजार २ सय मिटर उचाइमा रहेको खप्तडमा अत्यधिक चिसो हुन्छ । पाटनहरू हिउँले सेताम्मे हुन्छन् ।

6

सानो हावाको झोंकामा पनि सुसेरा हालेझैं गर्ने रानीसल्ला, बाँच, नौरंगी लालीगुराँस, खस्रोउ, लेकसल्ला, लोठसल्लाका रुखको आनन्द लिने कोही छैनन् । चार रैथाने सहित १ सय ३५ किसिमका फूल फुल्ने यो क्षेत्र प्राकृतिक इतिहासको संग्रहालय र जीवित बगैंचा हो । नेपालमा पाइने ७ सय मुख्य जडीबुटीमध्ये २ सय २४ प्रजातिका जडीबुटी यसै क्षेत्रमा पाइन्छ ।

1

प्रकृतिको यो अनौंठो संग्रहालयमा ५ सय ६७ प्रजातिका वनस्पति र विभिन्न २ सय ७० जातका चराचुरुंगी छन् ।  खस्रे भ्यागुता र बझांगे पा गरी दुई प्रजातिका रैथाने उभयचर बाघबुट्टे निगालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो । विश्वकै दुर्लभ जातिको हरियो छेपारो पाइने यहाँ २२ पाटन र ५२ झोता छन् । यो १ सय ७५ प्रजातिका चराले बच्चा कोरल्ने ठाउँ पनि हो । यो क्षेत्र कस्तुरी र हिमचितुवाको पनि बासस्थान हो ।

प्रकृतिको धेरै उपहार एकै थलोमा
पारिपट्टि नजिकै जसरी लहरै हिमशृंखला । यता वारि फराकिला पाटनमा तपतप चुहिने सेताम्मे हिउँ । मधुर स्वरमा चिरबिर गर्दै भुर्र–भुर्र उड्ने चरा । जिस्क्याएझैं गरी झाडी र पाटनमा लुकामारी खेल्दै आगन्तुकहरूलाई स्वागत गर्ने मृग एवं कस्तूरी । अञ्जुलीमा उठाएर पिउँदा अमृत बिर्साउने कञ्चन अनि कलकल बग्ने खोलाको पानी । कतै पहाड, कतै खोंच, कतै पाटन अनि सिमसार । सुदूरपश्चिमका चार जिल्ला बझाङ, बाजुरा, डोटी र अछामको थाप्लोमा पर्ने भूस्वर्ग खप्तडले अनेकौं विविधता बोकेको छ ।

3

वास्तवमा खप्तड अलौकिक छ । सुन्दर छ । अनुपम छ । धार्मिक, सांस्कृतिक एवं आध्यात्मिक सबै हिसाबले अद्वितीय छ । खप्तडमा सिजन अनुसार जंगली फूल, हिउँ फूल तथा हिमाल हेर्न पाइन्छ । अपी र साइपाल हिमाल प्रस्टै देखिन्छन । अन्य थुप्रै हिमशृंखला खप्तडको समानान्तर देखिँदा मन प्रफुल्ल हुन्छ । यहाँका फराकिला ठूला पाटनले बेलायतको घाँसे मैदानलाई बिर्साउँछ । खप्तडमा वर्षभरि घुमे पनि अघाइँदैन ।

3

दुर्लभ जीवजन्तु, वनस्पति एवं अनुपम प्राकृतिक छटायुक्त खप्तडले भूस्वर्गको उपमा त्यसै पाएको होइन । खप्तड काव्ययात्रा पुस्तकमा राष्ट्रिय गानका रचनाकार तथा गीतकार व्याकुल माइलाले खप्तड घुमफिरपछि लेखेका छन–‘नेपाल कति पवित्र, सुन्दर र धनी छ भन्ने कुराको एउटा ज्वलन्त उदाहरण हो–खप्तड ।’ थरीथरीका फूल फुलेर रंगीन हुने खप्तडका पाटनको दृश्य उत्तिकै लोभलाग्दो हुन्छ । महँगो अत्तर बिर्साउने फूलको मगमग वासनाले खप्तड पुग्ने जोसुकैको आँत हरर्र बनाइदिन्छ । चैतदेखि कात्तिकसम्म फूलैफूलले ढाकिने खप्तड हिउँदमा सेतो आँचलमा छोपिन्छ । चिसो भए पनि परिवेश रोमाञ्चक भैदिन्छ । पर्यटकहरू खप्तडमा जुनसुकै बेला रमाउन सक्छन्, खप्तडबाट प्राकृतिक प्रेम सिक्न सक्छन ।

9 

वनस्पति तथा जडीबुटी छन् अथाह 
०४३ असार ९ मा स्थापना भएको खप्तड राष्ट्रिय निकुञ्जको क्षेत्रफल २ सय २५ वर्गकिलोमिटर छ । निकुञ्ज कार्यालयका अनुसार यो निकुञ्ज अन्तर्गत वन क्षेत्र १ सय ९९ दशमलव ७३, घाँसे मैदान १३ दशमलव ४७, कृषि भूमि ९ र झाडी बुट्यान २ दशमलव ८० वर्गकिलोमिटर छ । यहाँ ५२ पाटन (चौर), ५३ थुम्का तथा २२ वटा दह छन् । खप्तडमा ३ सय ८२ प्रकारका रुख, वनस्पति तथा जडीबुटी पाइन्छन् जसमा रूख ५७, बुट्यान ७८, घाँसपात २ सय ३, लहरा ८ र उन्यू १९ प्रजातिका छन् ।

1

यो क्षेत्र कालकूट, पाँच औंले, नीरमसीजस्ता जडीबुटीको भण्डार मानिन्छ । लेकसल्लो, भोजपत्र, खस्रु, गुराँस, रानीसल्लो, उत्तीस, महुवा, लौठसल्ला आदिका रूख–वनस्पति पनि त्यहाँ पाइन्छन् । १२ वटा गुफा भएको खप्तड क्षेत्रमा २ सय ८७ प्रजातिका पन्छी, २३ प्रजातिका स्तनधारी, १७ प्रजातिका सरिसृप तथा ६ उभयचर प्रजातिका वन्यजन्तु पाइन्छन । हरियो छेपारो, खस्रे भ्यागुता, बझाङे पाहा आदि दुर्लभ जीवदेखि भालु, बँदेल, कस्तूरी, चितुवा आदि जनावर खप्तडमा उपलब्ध हुन्छन । कस्तूरी मृग, चरीबाघ तथा ब्वाँसो जस्ता संरक्षित जीव खप्तडका सम्पत्ति नै हुन । 

11

पौराणिक महत्व बोकेको भुमी खप्तड बाबाको ध्यान भुमी 
खप्तडको धार्मिक एवं पौराणिक महत्व छ । स्कन्द पुराणमा खप्तडलाई ‘खेचराद्री’ पर्वत भनिएको छ । खेचर शब्द अपभं्रश हुँदै जाँदा खप्तड भएको स्थानीय बासिन्दाहरू बताउँछन । पौराणिक कालमा मायावी शक्ति भएका देवीदेवताहरू गगनचरीको भेष धारण गरी खप्तडको आकाशमा रमाउने आर्षपुराण आदि विभिन्न धार्मिक ग्रन्थमा उल्लेख छ । देवीदेवता एवं सिद्धहरूको क्रीडास्थल खप्तड ऋषिमुनिहरूको पनि तपस्थल हो ।

12

युधिष्ठिर र पाण्डव पनि यतैबाट स्वर्ग गएको पौराणिक मान्यता छ । खप्तडको त्रिवेणी धाममा लाग्ने गङ्गा दशहरा मेला भरे मोक्ष प्राप्त हुने जनविश्वास छ । सहस्त्रलिङ्ग, केदार ढुङ्गा, नागढुङ्गा, भुदेउ ढुङ्गालाई शिव स्वरूप मानेर पूजा गर्ने चलन अहिले पनि कायमै छ । घोडादाउना पाटनको पूर्वमा करिब ११ हजार फिटको उचाइमा खप्तड बाबाको कुटी छ ।

13

बझाङ राज्यका अध्येता विष्णुभक्त शास्त्रीका अनुसार माझको झुत्ती भन्ने ठाउँमा अवस्थित यो कुटी २००३ सालमा तत्कालीन बझाङी राजा रामजंगबहादुर सिंहले खप्तड बाबाका लागि निर्माण गरिदिएका थिए ।  स्लेटले छाएको यो कुटीमा योग साधना कक्ष, गर्भगृह तथा तप योग कक्ष आदि छन् । खप्तड स्वामीले त्यहाँ झन्डै ५० वर्ष साधना गरेका थिए । सुदूरपश्चिमको परम्परागत शैलीमा निर्माण गरिएको उक्त कुटीमा खप्तडबाबाले प्रयोग गरेका सामग्री, उनले लेखेका तथा अध्ययन गरेका पुस्तक लगायत अरू विभिन्न सामग्री अहिले पनि सुरक्षित छन् । 

15

धार्मिक महत्व बोकेको तपोभुमी
वर्षको ६ महिना हिउँ पर्ने खप्तड क्षेत्र सम्पूर्ण हिन्दूहरूको पवित्र तीर्थस्थान मानिन्छ । यसलाई स्कन्धपुराणमा खिचराद्री पर्वत भनिएको छ । यहाँको खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्तड दह, शिव मन्दिर, सहस्र लिंग, गणेश मन्दिर, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरू निकै प्रख्यात छन् । पुराण अनुसार महादेवले खप्तडको जडीबुटी प्रयोग गरी बिरामी निको पार्ने गरेकाले उनलाई वैद्यनाथ भनिन्छ । खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलाहरू सदियौंदेखि प्रचलित र प्रख्यात छन् ।

16

हरेक ज्येष्ठ शुक्लपक्षको गंगा दसहरा तिथिमा यहाँ ठूलो मेला लाग्छ । हजारौं तीर्थयात्री र आन्तरिक पर्यटक पुग्छन् र त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूर पश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्नुका साथै देउडा खेलेर रमाउने गर्दछन् । खप्तड स्वामीद्वारा लिखित धर्म विज्ञानमा उल्लेख भए अनुसार सोलिङ्ग खोला सहस्त्रलिङ्ग भएर बग्दै आउँछ । यसलाई ‘गङ्गा नदी’ भनिन्छ । डाँफेकोट भएर डाँफेकोट खोला बग्दै आउँछ । यसलाई ‘यमुना’ भनिन्छ । यसैगरी प्राचीन धर्मशाला मुन्तिर गुप्त बगेकी नदीलाई ‘सरस्वती नदी’ भनिन्छ । गङ्गा, यमुना र सरस्वतीको संगमस्थललाई नै त्रिवेणी भनिन्छ । निकुञ्जको बीच भागमा रहेको त्रिवेणी क्षेत्रमा हरेक वर्ष गङ्गा दशहराका दिन मेला लाग्छ । उक्त त्रिवेणीमा स्नान गर्दा इच्छित फल प्राप्त हुनुका साथै पाप मोक्ष हुने जनविश्वास छ । 

17

समुद्री सतहबाट करिब १२ हजार फिटको उचाइमा रहेका तीनवटा चुचुरा भएको ठूलो शिलालाई सहस्रलिङ्गका रूपमा पूजा गरिन्छ । यसलाई स्थानीय बासिन्दाहरूले शंकरी शिला पनि भन्छन । उक्त शिलाको पहिलो चुचुरोमा भगवान् शिव, दोस्रोमा पार्वती तथा तेस्रोमा भगवान् गणेश विराजमान भएको धार्मिक विश्वास छ । चुचुरोभन्दा तल शिवलिङ्ग आकारका सयौं स–साना चुचुरा छन । धार्मिक ग्रन्थहरूमा उक्त सहस्रलिङ्गको महत्व काशी विश्वनाथ जत्तिकै बताइएको छ ।

18

तीर्थालुहरूले श्रद्धा–भक्तिका साथ त्यहाँ पूजाआजा गर्छन । मनोकामना पूरा होस् भनेर सहस्रलिङ्गमा घण्ट चढाइन्छ ।
करिब १ सय मिटर चौडाइ तथा ५० मिटर लम्बाइको यो तालको उद्गम र निकास छैन । यद्यपि यो दहमा बा¥है महिना पानीको सतह भने एकनास रहन्छ । अर्काे अनौठो कुरा यो दहका दुई वटा नाम छन् र त्यसमा दुई रंगको पानी देखिन्छ । आधा दहमा निर्मल सेतो पानी हुन्छ । यसलाई खापर दह भनिन्छ । यसलाई दुधिर वीरको रूप मानिन्छ भने धमिलो पानी भएको आधा दहलाई अशंखी भनिन्छ र त्यसलाई नीलकण्ठ कालीको रूप मानिन्छ । यो दहको उत्तरमा काठैकाठले बनेको जगन्नाथको मन्दिर छ । छेवैमा हवनकुण्ड छ । यो मन्दिर ते¥हौं शताब्दीभन्दा पहिले नै निर्माण भएको खप्तडको धार्मिक महत्वका अनुसन्धानकर्ता एवं पूर्व सचिव विष्णुप्रसाद खत्रीको भनाइ छ । अर्काे अनौठो कुरा दलितलाई छोइछिटो गर्ने चलन रहेको सुदूरपश्चिममा यो मन्दिरका मूल पुजारी सार्की जातिका मानिसहरू हुनु हो । यति मात्र होइन त्यहाँ सार्की जातका पुजारीले दाँतले चपाएको चामलको अक्षता प्रसादका रूपमा चढाइन्छ । हरेक वर्ष भदौमा त्यहाँ ठूलो मेला लाग्छ । पूर्णिमाका दिन पुजारी गाउँ, बझाङबाट खापर जगन्नाथको डोली आउँछ । 

19

केदारढुंगा त्रिवेणीधाम नजिकै छ । यसको कथा महाभारतसँग जोडिएको छ । महाभारतको युद्धकालमा वंश विनाश र गोत्रहत्याको पापमोचन गर्न पाण्डवहरू खप्तडको पाटन आइपुगे । पाण्डवहरूले त्यहाँ पूजा, होम, तर्पण आदि गरेपछि उनीहरू शिवजीको दर्शनका लागि एकाग्र भए । राँगा–भैंसीको बथानमा राँगाको भेषमा विचरण गरिरहेका शिवको दर्शन टाढैबाट गरे पनि नजिकै पुग्दा ती शिवस्वरूप केदार विशाल शिलामा परिणत भैसकेका थिए । तीर्थालुहरू अहिले त्यसको पूजाआजा गर्छन ।  बझाङको खप्तड छान्ना गाउँपालिका तथा थलारा गाउँपालिकाबाट खप्तड प्रवेश गर्ने पहिलो पाटन नजिक खडुली र दुदुली देवीका दुई अलग–अलग मन्दिर छन । ती दुईवटा मन्दिरको बीचमा एउटा यज्ञमण्डप छ । मन्दिर नजिकै तीनवटा धर्मशाला छन । यहाँ हरेक चैत तथा असोज महिनाको अष्टमीका दिन पूजा आजा हुन्छ । 

1

बर्षभरी नै घुम्न मिल्ने गन्तव्य
अध्यात्म, योग र ध्यान गर्न लायक गन्तव्य हो खप्तड । खप्तडको प्रचारमा खप्तड बाबाको योगदान ठूलो छ । जीवनको लामो कालखण्ड उनले त्यहाँ विताएका थिए । योग, ध्यान र साधना गरेर बसे उनी । जाडोमा उनी तराई झर्थे, अरुबेला खप्तडमै बिताउँथे । उनलाई भेट्न राजा वीरेन्द्र हेलिकप्टरमा खप्तडै पुग्थे । ठूल–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य । प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ । तनाबबाट मुक्ति मिल्छ । वर्षैभरी घुम्न सकिन्छ खप्तडमा । जेठ–असारमा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको उज्यालो छाउँछ खप्तडमा । त्यस क्षेत्रबाट अपि शैपाल मात्रै होईन, केही भारतीय हिमाल पनि देखिन्छ ।    

3

आवश्यक छ पुर्वाधार र सडक
माल पाएर पनि चाल पाएका छैनौं हामीले । खप्तड जस्तो पवित्र भूमिलाई पर्यटकीय गन्तव्य बनाउन धेरै काम गर्न बाँकी छ । सँगै पदमार्ग स्तरोन्नती, होटल सुविधा र ठाउँ ठाउँमा आराम गृह जरुरी छ । खप्तडको पर्यटन विकासका लागि पर्यटन मन्त्रालय अन्तर्गत खप्तड क्षेत्र पर्यटन विकास समिति गठन गरिएको छ । समिति गठन गरिए पनि हुनुपर्ने जति विकास र प्रचार हुन सकेको छैन । खप्तड पर्यटन विकास समितिका निर्देशक भीम खड्का यो क्षेत्रमा पूर्वाधार विकासको काम भइरहेको बताउँछन् ।  ‘पछिल्लो समय खप्तडमा पूर्वाधार विकास भइरहेको छ । खप्तड क्षेत्रमा १५० जनाका लागि आवास हुने दुई ठाउँमा संरचना बन्दै छन् भने सडक सञ्जाल जोड्ने तयारी गर्न प्रदेश सरकारले योजना अगाडि सारेको छ । ’ खड्काले भने । ‘यसको प्रचारप्रसारका लागि यस वर्ष कार्यक्रम तय भएको छ,’ खड्काले भने, ’पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले थप जोड दिनुपर्छ ।’
सुदूरपश्चिममै छ खप्तड धर्तीको भूस्वर्ग 
२२ पाटन, ५२ झोतीको संगमको गरौं गर्व । 
पुर्वाधारको कमि छ अब गरौं खप्तडको विकास
सुदुरपश्चिमको पर्यटन प्रवद्र्धनको यही हो ठुलो आस ।।

1

1

1

3

2

3

1