डोटीको छतिवनको सुन्दर झरना: पर्यटकको नयाँ रोजाइ
2021/08/01, 9:53
 
corona

लामो समय काठमाडौंबाट उपेक्षित भूगोल रहेको सुदूरपश्चिमको परिचय विस्तारै फेरिँदै गएको छ। पछिल्लो समय यसलाई सुदूरपश्चिम होइन, सुन्दर पश्चिम भन्न थालिएको छ।

त्यसका कारण छन्। अहिले सुदूरपश्चिम प्रदेश नै नामाकरण भएको यो क्षेत्रमा यस्ता रमणीय पर्यटकीय स्थल छन् जसको तुलना मुलुकका अन्य भूभागसँग पनि हुँदैन। किनभने, धर्तीको भूस्वर्ग भनिने खप्तड सुदूरपश्चिममै छ। विश्वमै दुर्लभ बाह्रसिंगाको बथान पाइने शुक्लाफाँटा निकुञ्जदेखि अरु कैयौं पर्यटकीय स्थलहरु सुदूरपश्चिममै छन्। 

तर, सुदूरपश्चिमले आफ्ना सम्भावना आफैं उजागर गर्न सकिरहेको छैन। यसलाई उजागर गरिदिने प्रयास पनि काठमाडौंले खासै गरेको छैन। सुदूरपश्चिमेलीहरु भने आफूसँग भएका नयाँ-नयाँ सम्भावना खोजी गर्ने अभियानमा लागिरहेकै छन्। पछिल्लो समय चर्चित गन्तव्य बन्न पुगेको डोटीको जोरायलस्थित रमणीय झरणा यसकै उदाहरण हो।

डोटीको जोरायल गाउँपालिका-२ छतिवनमा रहेको झरना हेर्न दैनिक सयौं आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ।  प्रदेशको अस्थायी मुकाम धनगढी लगायतका क्षेत्रबाट सयौंको संख्यामा स्थानीयहरू उक्त झरना हेर्न पुग्ने गरेको स्थानीय हरि भट्टले बताए। उनले डोटी, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुरलगायत बाँके र बर्दियाबाट समेत मानिसहरू झरना हेर्न आउने गरेको बताए।

धनगढी उपमहानगरपालिका-२ बाट परिवार सहित झरना हेर्न आएका रमेश अवस्थीले बाटो केही असहज भए पनि यहाँ पुगेपछि सबै बिर्सेको बताए। उनले स्थानीय पालिकाले बाटोघाटो र सरसफाइमा ध्यान दिए पर्यटकको घुइँचो नै लाग्ने बताए।

त्यस्तै, कैलालीकै टीकापुरदेखि मोटरसाइकलमा साथीहरूसँगै पुगेका टेक साउदले झरनाको बारेमा सुनेकाले साथीहरू मिलेर आएको बताए। उनले तराईको गर्मी छल्न र रमाइलो गर्न यहाँ आएको बताए। अवस्थीले जस्तै साउदले पनि झरना वरपर सरसफाइ र बाटो निर्माणमा ध्यान दिनुपर्ने बताए। 

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले डीपीआर तयार भइसकेको बताउँदै यही आर्थिक वर्षदेखि झरनासम्म पुग्ने बाटो, पिकनिक स्पट, पार्किङस्थल लगायतको निर्माण थालिने बताए।  धनगढीदेखि भीमदत्त राजमार्ग हुँदै बुडरसम्म र त्यहाँबाट बुडर-जोरायल सडक हुँदै झरना पुग्न ६ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ।