दार्चुलाको अपि हिमाल गाउँपालिकामा पाक्न थाले स्याउ
2021/08/15, 2:23
 
dd

दार्चुला जिल्लाको अपि हिमाल गाउँपालिकामा स्याउ पाक्न थालेका छन्। किसानहरुले लगाएका स्याउ यती बेला गाउँपालिकाका विभिन्न क्षेत्रमा पाक्न सुरु भएका हुन् । गत वर्ष लगाइएको इटाली गाला र फुजी जातको स्याउ फल्न थालेको स्याउ किसानहरुले जानकारी दिएका छन्। तर अपि हिमाल गाउँपालिकामा उत्पादन भएको स्याउ बजारमा भने देखिएको छैनन्। किसानले अघि पाक्ने स्याउ टिप्न सुरु गरेको जनाएका छन् । पछौटे स्याउ पनि पाक्ने क्रम बढ्दै गएको किसानहरुको भनाई रहेको छ।

अपि हिमाल गाउँपालिका वडा नम्बर ३ पाथीका स्याउ किसान जनक कार्कीका अनुसार दिन प्रतिदिन अहिले अपि हिमालको स्याउले रङ बढिरहेको जानकारी दिए । जति बढी रङ आयो त्यति नै बढी रसिलो र मीठा हुँदै जाने उनको भनाइ छ । अपि हिमालको स्याउ अगामी भाद्रको दोस्रो हप्ताबाट टिप्न सुरु गरिने बताइएको छ । यस वर्ष स्याउमा फल कम लागेका कारण किसानलाई ठूलो घाटासमेत हुने भएको छ ।

गाउँपालिकाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा असिनापानी परेपछि फल नलागेको किसान कार्कीले जानकारी दिए । उनका अनुसार असिनाका कारण स्याउ खेतिमा पारेको प्रभावले यो वर्ष ७० देखि ८० प्रतिशत स्याउ उत्पादनमा कमि आउने आकंलन गरिएको छ ।

जिल्लाको अपिहिमाल गाउँपालिकाको वडा नम्बर ३ पाथी क्षेत्रमा मात्रै किसानहरुले २ सय रोपनी क्षेत्रफलमा स्याउ खेति विस्तार गरेको जनाएका छन । गाउँपालिकाको थुम्ती देखि घार्जिर सम्म स्याउखेति हुने गरेको छ । गाउँपालिकाको वडा नम्बर १ ३ ४ र ५ नम्बर वडामा स्याउ खेति विस्तार गरिएको छ ।