व्यवसायिक मसला उत्पादन प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न
 
jjjj

कैलालीको घोडाघोडी नगरपालिकामा सात दिने व्यवसायिक मसला उत्पादन प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न भएको छ । सीप सिकौं आत्मनिर्भर बनौं, एक वडा एक उद्योग गरौं, उत्पादन राखौं पहिचान भन्ने नाराका साथ घोडाघोडी नगरपालिका वडा नम्बर १ मा व्यवसायिक मसला उत्पादन प्रशोधन तथा बजारीकरण तालिम सम्पन्न भएको हो । 


गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा तालिम सम्पन्न भएको हो । पिपलडाँडा लघु उद्यमी समुहका २५ जना महिलाहरुले तालिममा सहभागीता जनाएका थिए । उनीहरुलाई मसला बनाउने, त्यसको प्रशोधन गरी बजारीकरणका विभिन्न बिषयमा तालिम दिईएको थियो । 

सहभागी आमा समुहका महिलाहरुलाई तालिमका प्रशिक्षक तथा कामना मसला उद्योगका प्रबन्धक पंकज बहादुर देउवाले प्रशिक्षण दिएका थिए । तालिममा सिकेको सीपलाई व्यवसायिक रुपमा लागु गरि आत्मनिर्भर बन्ने सहभागी महिलाहरुले बताएका छन् । उनीहरुले आफुहरुलाई तालिमले व्यवसाय गर्ने आँट बढेको समेत बताएका छन् । तालिमपछि महिलाहरुले उत्पादन गर्ने मसलाहरुको गुणस्तरको बिषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य निरिक्षकहरुले पनि आमा समुहका महिलाहरुलाई प्रशिक्षण दिएका थिए । 


सात दिने तालिमको एक समारोह बीच समापन गरिएको छ । घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क बहादुर रावतले सहभागी महिलाहरुलाई प्रमाण पत्र वितरण सहित सीप सिकेर स्वरोजगार बन्न आग्रह गरे । घोडाघोडी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाको अध्यक्षतामा भएको समापन कार्यक्रममा उद्यम विकास शाखा प्रमुख जुगीना चौधरी, पिपलडाँडा लघु उद्यमी समुहका अध्यक्ष लक्ष्मी सापकोटा लगायतको सहभागीता रहेको थियो ।