निर्मला प्रकरणमा अर्को ‘क्लु’ !  हत्यामा दुई जना संलग्नताको आशंका
९ गते कहाँ गएकी थिइन् निर्मला ? एक सय जनाको डीएनए परीक्षण
2021/08/16, 5:25
 
dd

कञ्चनपुर भीमदत्त नगरपालिका–२,उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीनवर्ष पुगिसकेको छ । ०७५ साउन ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी निर्मला हत्याराको पहिचान भने अझै हुन सकेको छैन ।

सुरुवातदेखि नै निरन्तर अनुसन्धानमा सक्रिय रहेको प्रहरी अझै अभियुक्तसम्म पुग्न सकेको छैन । न त प्रहरीले अभियुक्तसम्म पुग्ने ‘क्लु’ नै फेला पार्न सकेको छ ।  तीन वर्षको अवधिमा प्रहरीले आधा दर्जन बढी प्रहरी अधिकृतलाई हत्याकान्डको अनुसन्धान गर्ने जिम्मेवारी दिइसकेको छ । तर अनुसन्धानमा खटिएका सबैजसो अधिकृतहरु निरास देखिन्छन् ।

सबैजसो प्रहरी अधिकृतहरुको एउटै गुनासो छ,“अनुसन्धानमा सुरुवाती समयदेखि नै केही समस्या भयो । यसबाहेक शव फेला परेकै दिन चर्किएको आन्दोलन लगायतले पनि अनुसन्धानले आफ्नो बाटो समात्न सकेन ।” जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी सिद्धराज न्यौपाने अनुसन्धान निरन्तर जारी रहेको बताउँछन् ।  उनले भने, “विगतका सबै अनुसन्धानलाई पनि हेरिरहेका छौं । शंकास्पदमाथि निगरानी, सोधपुछलगायतका काम भइरहेका छन् । हामी गम्भीरतापूर्वक यो घटनाको अनुसन्धानमा छौं ।”

डीएसपी न्यौपाने प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराख्ने बताउँछन् । उनी भन्छन्,“हामी पूर्ण व्यवसायिकताका साथ सुक्ष्म ढङ्गले अनुसन्धानमा छौं । विभिन्न कोणबाट अनुसन्धान गरिरहेका छौं । यसमा सिंगो संगठन गम्भीर छ ।”

 

साउन ९ गते कहाँ गएकी थिइन् निर्मला ?

निर्मला साउन ९ गते भीमदत्तनगरकै भासी जान्छु भनि निस्किएको पाइएको छ । प्रहरीका अनुसार निर्मलाका बुबा यज्ञराज कान्छी श्रीमतीसँग भासीमा बस्दै आएका थिए । तर साउन ९ गते उनीहरु दुवै धार्मिक यात्राका लागि भारतमा थिए । यस्तोमा साउन ९ गते निर्मला भासी गइन् वा गइनन् भन्ने प्रश्न उठेको छ । भासी नगएको भए उनी कहाँ गइन् त त्यो दिन ? अनुसन्धान यहाँबाट पनि गरिएको प्रहरी अधिकारी बताउँछन् ।

प्रहरीले साउन ९ गते निर्मला कहाँ गएकी थिइन वा कसैलाई भेटेकी थिइन् भन्ने खोज गरिरहेको छ । निर्मला हत्या अनुसन्धान गरेर काठमाडौं फर्किएका एक अधिकृत भन्छन्, “साउन ९ गते निर्मला भासी गइन् वा गइनन् यो महत्वपूर्ण कुरा छ । उनी घरबाट निस्किएकी छन् तर भासी नै हो वा होइन यकिन छैन । यो कुरा खुले पनि अनुसन्धानले केही बाटो देखाउन सक्छ ।”

 

साउन १० गते निर्मला घरबाट निस्किएको त्यो दिन

निर्मला घरनजिकै रहेको सरस्वती उच्च माविमा कक्षा ९ मा अध्ययरन थिइन् । साउन १० गते उनी निम्बुखेडामा रहेको साथीको घरमा नोट ल्याउन भन्दै निस्किएकी थिइन् । साथीको घरबकाट उनले नोट, केही अम्ब लिएर घरतर्फ लागेको अनुसन्धानबाट खलिसकेको छ ।  साथीको घरबाट पनि निर्मला भाँसी जानु छ भन्दै निस्किएको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । 

साउन १० गते पानी पनि परेको थियो । साउन १० गते राति पनि ठूलो पानी परेको थियो । साँझसम्म निर्मला घरमा आइनन् ।निर्मला नपुगेपछि सोही दिन प्रहरीलाई पनि खबर गरिएको थियो तर प्रहरीले चासो दिएन । साउन ११ गते बिहानसम्म निर्मला हराएको खबर व्यापक बन्यो । सोही क्रममा प्रहरी र स्थानीयले निम्बुखेडामै रहेको उखुबाँरीमा खोजी गर्न सुरु गर्‍यो । सोही उखुबाँरीमा उनको शव फेला पर्‍यो भने खोलामा साइकल । 

शव भेटिएकै बेला प्रर्दशन

निर्मला मृत अवस्थामा फेला परेलगत्तै घटनास्थलमा भीमदत्त नगरपालिकाका मेयर र प्रहरी विरुद्ध नाराबाजी सुरु भयो । स्थानीयले घटनास्थलमा मेयर नआएको भन्दै प्रदर्शन गरेका थिए । त्यसलगत्तै महेन्द्रनगर बजारमा पनि प्रर्दशन सुरु भयो । प्रहरीले सुरुवातमा भएको प्रर्दशनले पनि अनुसन्धानमा असहजता ल्याएको बताउँदै आएको छ । 

दीलिप पक्राउपछि चर्किएको आन्दोलन

निर्मला प्रकरणको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि परिचालन भयो । ब्युरो र जिल्ला प्रहरी कार्यालयले भदौ ४ गते हत्याका मुख्य अभियुक्त भन्दै भीमदत्त नगरपालिका–१९ बाँगफाँटाका ३९ वर्षीय दीलिपसिंह विष्टलाई सार्वजनिक गर्‍यो ।  तर दीलिपलाई सार्वजनिक गरिएसँगै महेन्द्रनगरमा आन्दोलन चर्कियो । आन्दोलन चर्किँदै जाँदा प्रहरीले प्रर्दशनकारीमाथि गोली नै प्रहार गर्‍यो ।

गोली प्रहारबाट स्थानीय १७ वर्षीय सन्नी खुनाको ज्यानै गयो । आन्दोलन मत्थर भएन । प्रदर्शनकारीले भीमदत्तका मेयरको घरमा समेत ढुङ्गामुडा गरे । तर निर्मलाको स्वाबसँग दीलिपको डीएनए म्याच नभएपछि उनी छुटे । तर दीलिपलाई सार्वजनिक गर्ने प्रहरी अधिकृत भने घटनामा उनकै संलग्नता रहेको दाबी गर्दै आएका छन् । 

अनुसन्धान गर्ने प्रहरी नै कारवाहीमा 

प्रहरी अनुसन्धानमै प्रश्न उठेपछि छानबिनका लागि सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति बनायो । सो समितिले स्थलगत अध्ययन गर्‍यो । मैनाली नेतृत्वको समितिले अनुसन्धानमा प्रहरीले अनुसन्धानमा लापरवाही गरेको निष्कर्ष निकाल्यो । सोही समितिको सिफारिसका आधारमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख, सीआईबीका अधिकारी लगायतमाथि कारवाही भयो ।

उनीहरुमाथि प्रमाण नष्ट र दीलिप विष्टमाथि यातना दिएको आरोपमा मुद्दा पनि दायर भयो । तर उनीहरुले अहिले भने सफाई पाइसकेका छन् ।  निर्मला प्रकरणमा राष्ट्रिय मानव अधिकार आयोग, मानव अधिकार संगठन र प्रहरी प्रधान कार्यालयका तत्कालीन एआईजी धिरु बस्न्यातको नेतृत्वमा पनि छुट्टाछुट्टै प्रतिवेदनहरु तयार भएका थिए । तर प्रतिवेदन अलपत्र परे । बस्न्यात नेतृत्वको टोलीले बनाएको प्रतिवेदन त खारेज नै गरियो । 

आपसमै बाझिन्छ प्रहरी अधिकृतको मत

अनुसन्धानमा खटिएका आधा दर्जन बढी प्रहरी अधिकृतसँग घटनाबारे जान्ने प्रयास भयो । तर उनीहरुका मत आपसमै बाझिएको पाइन्छ । घटनाको सुरुवातमा खटिएर कारवाहीमा परेका अधिकृतहरु दीलिप नै घटनाको मुख्य अभियुक्त भएको दाबी गर्छन् भने अन्य अधिकृतहरु त्यो दाबी मान्न तयार देखिँदैनन् । उनीहरु भन्छन्,“दीलिप हो नै भनेर दाबी गर्न सकिँदैन । प्रमाणले पुष्टि गर्न नसकिएपछि होला भनेर भन्न मिलेन नि ? त्यसैले यसमा गहन अनुसन्धान जरुरी छ ।”

तर बर्खास्तीदेखि निलम्बनमा परेकाहरुले भने सञ्चारमाध्यममै दीलिपबाहेक अर्को अभियुक्त पुष्टि गर्न चुनौती दिँदै आएका छन् । अनुसन्धानमै संलग्नहरुको मत बाझिएपछि प्रहरी प्रधान कार्यालयले कञ्चनपुर पुगेर अनुसन्धानमा जुटेका प्रहरी अधिकृतहरुसँग छलफलसमेत गरेको थियो । निर्मला हत्याको अनुसन्धानमा प्रदेश प्रहरी, सीआईबी र कञ्चनपुर प्रहरीको टोली सक्रिय छ । सीआईबीका डीएसपी नेतृत्वको टोली सुरुवातदेखि हालसम्म कञ्चनपुरमै छ । 

उखुबारी नै हो त घटनास्थल ?

प्रहरी अधिकारीहरुलाई प्रारम्भिक घटनास्थल निर्मलाको शव भेटिएकै स्थान उखुबारी नै हो वा होइन भन्नेमा ढुक्क भने छैन । तर घटनास्थलको प्रकृति, शव संकलन गर्दा खिचिएका तस्बिर, भिडियो विश्लेषण गरेर निर्मलाको प्राण भने उखुबारीमै गएको दाबी गर्दै आएका छन् । घटनास्थल र घटनाको सम्भावित प्रकृतिमा पनि प्रहरी अधिकृतहरु विभाजित देखिन्छन् । उखुबारी नै घटनास्थल मानेर प्रहरी अनुसन्धान भने अगाडि बढेको देखिन्छ । 

तर खोला तारेर निर्मलालाई भने उखुबारीमा लैजान केही समस्या पर्ने कतिपय अनुसन्धान अधिकृतहरुको अनुमान छ । खोलामा पानी भएकाले खोला तारेर पारी लैजाने अवस्था सहज नभएको प्रहरी कै अधिकारीहरु बताउँछन् । खोलामा निर्मलाको साइकल भेटिएको थियो । सो साइकल अहिले पनि प्रहरीले सुरक्षित राखेको छ ।

साइकलकै विषयमा पनि प्रहरी अधिकारीको मत बाझिएको पाइन्छ । एकथरी प्रहरी अधिकारी भन्छन्, “साइकल फालिएको हो ।”  तर अर्काथरी प्रहरी अधिकारीहरु नै भन्छन्,“साइकल फालिएको होइन व्यवस्थापन गरिएको हो ।” यहाँनेर पनि अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतको मत बाझिएको छ । 

कस्तो छ घटनास्थल ?

निर्मलाको घर र उनको शव भेटिएको उखुबारीको दुरी एक किलोमिटरको हाराहारीमा छ । निर्मलाको शव भेटिएको उखुबारी जान खोला तर्नुपर्छ । केही पर काठको पक्की पुल पनि छ । बाक्लो उखुबारीसँगै रहेको खेला किनारमा पनि रुखहरु छन् । साउनको समय भएकाले खोला किनारमा बाक्लै बुट्यान थिए । 

सो स्थान लागुऔषध प्रयोगकर्ताको ‘जक्सन’ पनि हो । प्रहरी अनुसन्धानले पनि सो स्थानमा लागुऔषध प्रयोगकर्ता जाने सेवन गर्ने गरेको पाइएको छ । तर साउन १० गते पानी पनि परेको र वर्षातको पनि समय भएकाले त्यहाँ कोही थिए वा थिएनन् प्रहरीले त्यसको सुराक पाउन सकेको छैन । अहिले भने उखुबारी छैन ।

हत्यामा दुईजना संलग्न !

स्वास्थ्य परीक्षणबाट बलात्कारमा एक जनाको मात्रै संलग्नता देखिएको छ ।  निर्मलाको शरीरबाट निकालिएको स्वाबमा एक जनाको मात्रै डीएनए विकासित भएको छ । घटनामा कसको संलग्नता थियो खुलिसकेको छैन । तर केही प्रहरी अधिकारीहरु घटनामा दुई जनाको संलग्नता हुनसक्ने दाबी गर्छन् । 

उनीहरु भन्छन्, “बलात्कार र हत्यामा दुई जना हुन सक्छन्, साइकल व्यवस्थापन र हत्यामा एकै जना हुने सम्भावना कम देखिन्छ । सरसर्ती हेर्दा साइकल फालिएको नभएर व्यवस्थापन गरेको हो कि भन्नेजस्तो देखिन्छ ।” यसका लागि प्रहरीले घटनास्थलमा साइकल लगेर ट्रायलसमेत गरिसकेको छ । खोलामा साइलक फाल्दा अडिन्छ वा अडिन्न भनेर ट्रायल गरिएको थियो । 

एक सयको डीएनए परीक्षण

प्रहरी अधिकारीहरुका अनुसार बलात्कारको मुद्दामा निर्मला प्रकरणमै पहिलोपटक डीएनए परीक्षण गरिएको थियो । डीएनए परीक्षणको सुरुवात दीलिप विष्टबाटै भएको थियो । उनको डीएनए मिलेन ।  त्यसयता प्रहरीले हालसम्म एकसय जनाको डीएनए परीक्षण गरिसकेको छ । एक हजार बढी शंकास्पदसँग बयान गरिसकेको छ । तर न त कसैको डीएनए म्याच भएको छ न त प्रहरीलाई कुनै नयाँ ‘क्लु’ फेला परेको छ । 

सहज छैन अनुसन्धान

निर्मला प्रकरणपछि प्रहरीले दर्जनौं घटनाको सफल अनुसन्धान गरिसकेको छ । कञ्चनपुरमै कयौं घटनामा प्रहरी निस्कर्षमा पुग्न सफल भएको छ । तर निर्मला प्रकरणमा प्रहरी सफल हुन सकेको छैन ।  प्रहरीले प्रविधिको प्रयोगबाट अनुसन्धानलाई सफलतामा पुर्‍याउन नसकिएको बताउँदै आएको छ । निर्मलाले मोवाइल नबोक्ने र सामाजिक सञ्जाल प्रयोग नगर्ने भएकाले अनुसन्धानमा समस्या आएको हो । 

यसबाहेक प्रमाणको अभाव अर्को समस्या हो । प्रहरी अधिकारीहरुका अनुसार प्रहरीले सहयोग मागेका सबै स्थानीयको सहयोग पनि नपाएको गुनासो गरेको छ । ‘म्यानुअल’ रुपमै अनुसन्धान गर्नुपर्ने भएकाले सबैजना प्रहरीसँग खुल्न चाहँदैनन् । उनीहरु भन्छन्,“हामीलाई सूचना चाहिएको हो । हाम्रो टोली पनि सक्रिय छ । तर कतिपय अवस्थामा स्थानीयकै सहयोग चाहिन्छ त्यो सबैले गर्न मान्दैनन् ।”

हल्लाले प्रभावित भएको अनुसन्धान 

कतिपय प्रहरी अधिकारीहरु अनावश्यक हल्लाका कारण पनि अनुसन्धान प्रभावित हुने बताउँछन् । अनुसन्धानमा सफल पार्न सबै पक्षको सहयोग आवश्यक हुने प्रहरी बुझाइ छ । कतिपय अभियन्ता, राजनीतिक दलका नेता/कार्यकर्ताले सञ्चारमाध्यममा दिने अभिव्यक्ति तथ्यपरक नहुँदा त्यसले समाजमा नकारात्मक धारणा बन्ने र प्रहरीले सहयोग नपाउने गरेको प्रहरी अधिकारीहरुको बुझाइ छ । निर्मला प्रकरणलाई लिएर विभिन्न व्यक्तिका अभिव्यक्ति बेलाबेला चर्चामा आएका थिए । 

को–को छ शंकाको घेरामा ?

प्रहरीले शंकाको घेरामा यसअघि अनुसन्धानमा तानिएकाहरुलाई पनि राखेको छ । नयाँ तथ्य पनि विकास गर्दै लगेको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।  नजिकका आफन्त, सेना, विभिन्न अपराधमा संलग्न भएकाहरु, ट्यापेलगायत अनुसन्धानको घेरामा छन् । 

तीनजना सेनामाथि त प्रहरीले अनुसन्धान नै गरेको थियो । उनीहरुको डीएनए समेत संकलन गरिएको थियो । यसबाहेक निगरानीमा शिक्षक पनि छन् ।

प्रहरीलाई स्रोत साधनको अभाव

प्रहरी अनुसन्धान जारी छ । तर पर्याप्त मात्रामा स्रोत साधनको अभाव भएको उनीहरुकै गुनासो छ । यसअघि कञ्चनपुर प्रहरीको नेतृत्व गरेका र अनुसन्धानमा खटिएका सबैजसो अधिकारीहरु अनुसन्धानमा स्रोत साधनको अभाव भएको गुनासो गर्छन् । 

पर्याप्त मात्रामा सवारी साधन, सुराकी प्रयोग गर्न आवश्यक पर्ने आर्थिक स्रोतको अभावका कारणले पनि सूचना संकलनमा समस्या भएको उनीहरु बताउँछन् ।