कैलाली जिल्लामा वन्यजन्तुसम्बन्धी गम्भीर घटनामा संलग्न रहेको आरोपमा १३ जना प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरिएको छ । कैलालीको गोदावरी नगरपालिका–८ मा साउन ८ गते मध्यराति दुई जना युवक पक्राउ परेका थिए ।
प्रहरीको मोबाइल टोली र स्थानीय प्रहरीको संयुक्त प्रयासमा गरिएको सो कारबाहीका क्रममा उनीहरूको साथबाट भरुवा बन्दुकसहित वन्यजन्तुको अंग जस्तो देखिने सिङ र खुरसमेत बरामद भएको प्रारम्भिक जानकारी थियो । पक्राउ पर्नेहरू चन्द्रबहादुर चौधरी र राजु चौधरी रहेका थिए ।
तर, आश्चर्यजनक रूपमा बरामदी मुचुल्का तयार गर्दा सिङ र खुरको उल्लेख नै नगरिएको तथ्य पछि बाहिर आयो । यसले घटनालाई सामान्य हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा सीमित गरियो । वन्यजन्तुसम्बन्धी सम्भावित अपराधलाई लुकाइएको आशंका बलियो बन्दै गयो ।
घटना भएको केही महिनापछि प्रहरी प्रधान कार्यालयमा उजुरी दर्ता भयो । उक्त उजुरीमा इलाका प्रहरी कार्यालय ९इप्रका० मालाखेतीका मुद्दा शाखा प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीमाथि वन्यजन्तुको अंग लुकाएको लगायतका गम्भीर आरोपहरू लगाइएको थियो । उजुरीमा अनुसन्धान प्रक्रियामा अनियमितता गरिएको, प्रमाणहरू लुकाइएको र अभियुक्तहरूलाई संरक्षण गर्ने प्रयास गरिएको जस्ता आरोपहरू समावेश थिए ।
उजुरी प्राप्त भएपछि प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक छानबिनका लागि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डीएसपी० रणबहादुर चन्दलाई जिम्मेवारी दियो । चन्दले आफ्नो अनुसन्धान प्रतिवेदनमा कुनै पनि कमजोरी नभएको निष्कर्ष प्रस्तुत गरे । यसले घटनालाई थप विवादास्पद बनायो, किनभने उजुरीकर्ताहरूले प्रतिवेदन निष्पक्ष नभएको दाबी गरे ।
डीएसपी चन्दले प्रहरी निरीक्षक भण्डारीलाई जोगाउने प्रयास गरेको आरोपसहित प्रहरी प्रधान कार्यालयमा दोस्रोपटक उजुरी दर्ता भयो । यसपछि प्रदेश प्रहरी कार्यालय धनगढीले थप गहिरो छानबिन आवश्यक ठहर गर्दै नयाँ समिति गठन गर्यो ।डीएसपी निशान्त श्रीवास्तवको नेतृत्वमा गठन गरिएको उक्त छानबिन समितिले घटनाको पुनः अनुसन्धान सुरु गर्यो । समितिले घटनास्थल, बरामदी प्रक्रिया, कागजी अभिलेख र संलग्न प्रहरी कर्मचारीहरूको भूमिकाको विस्तृत अध्ययन गर्यो ।
छानबिनका क्रममा अत्यन्त महत्वपूर्ण तथ्य फेला पर्यो–पहिले लुकाइएको भनिएको सिङ र खुर इलाका प्रहरी कार्यालयकै दराजमा सुरक्षित अवस्थामा भेटियो । यसले उजुरीकर्ताको दाबीलाई पुष्टि गर्यो र प्रहरीभित्रै प्रमाण लुकाइएको स्पष्ट संकेत दियो ।
छानबिन समितिले पुसको पहिलो साता आफ्नो विस्तृत प्रतिवेदन तयार गरी प्रदेश प्रहरी कार्यालयमा बुझायो । प्रतिवेदनमा घटनामा संलग्न तथा अनुसन्धानमा लापरवाही देखाउने १३ जना प्रहरी कर्मचारीमाथि कारबाही गर्न सिफारिस गरिएको थियो ।
प्रतिवेदनअनुसार बरामद सामग्रीलाई जानाजानी मुचुल्कामा उल्लेख नगर्नु, अनुसन्धान प्रक्रियालाई प्रभावित पार्नु र प्रमाण लुकाउनु गम्भीर पेशागत त्रुटि मात्र नभई कानुनी दृष्टिले पनि दण्डनीय कार्य मानिएको छ ।
छानबिनपछि इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी रणबहादुर चन्द, प्रहरी निरीक्षक दानसिंह भण्डारी र वरिष्ठ सई दीपेन्द्र भट्टलाई विभागीय कारबाही गरिएको छ । उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम अभिलेखमा जनिने गरी ‘नसियत’ दिइएको बताइएको छ ।
यसका साथै घटनामा संलग्न अन्य १० जना प्रहरी कर्मचारीलाई पनि अभिलेखमा रहने गरी सचेत गराइएको प्रहरी स्रोतले जनाएको छ ।