प्रसिद्ध धार्मिकस्थल बडीमालिका तीर्थयात्रा सुरु, सजिलो छैन पुग्न
2021/08/19, 3:55
 
dd

बाजुराको प्रसिद्ध धार्मिकस्थल बडीमालिका तीर्थयात्रा बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी सहितको सरकाररी टोली तीर्थयात्रामा निस्केको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जाकनारी दिए।

बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुनेगर्छ। समुद्री सतहबाट ४ हजार २१६ मिटर उचाइमा रहेका बडीमालिका पुग्न ४ दिनको पैदल यात्रा गर्नुपर्छ। अहिले हजारौ भक्तालुहरु यात्रामा निस्किएका छन्। झरी होस् कि जाडो तीर्थालुहरु यात्रामा पर्वाह गर्दैनन्।

यस वर्ष बडीमालिकामा भदौ ५ गते मूलपूजाको मेला लाग्दैछ। पूजाआजाका लागि परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री बडीमालिकातर्फ लागिसकेका छन्। पूजाका लागि सरकाररी टोली प्रस्थान गरेको दिन डोटीका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ।

अछामको वैद्यनाथ क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा छ। यसका लागि एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ। बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानमा बसेर तीन दिन लगाउनै पर्ने परम्परा छ।बडिमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको सिमानामा पर्ने बडीमालिकाको धार्मिक तथा पर्यटकीय रुपमा विशिष्ट महत्व छ। मागेको वरदान पूरा हुन्छ भन्ने धार्मिक विश्वासले बडीमालिकाको धार्मिक महिमा बढाएको भक्तजन बताउँछन्।

स्कन्दपुराणमा उल्लेख भएअनुसार मल्लागिरी पर्वतमा सतीदेवीको बायाँ अंग पतन भएको थियो। यसै स्थानमा मालिकादेवी उत्पन्न भएकाले बडीमालिका प्रमुख शक्तिपीठका रूपमा स्थापित भएको धार्मिक विश्वास छ। मन्दिर क्षेत्रको प्राकृतिक सुन्दरताले बडीमालिकाको महत्व अझ बढाएको छ। त्यस क्षेत्रको अवलोकन गर्ने उद्देश्यले आन्तरिक तथा वाह्य पर्यटक यसैबेला बडीमालिका पुग्ने गर्छन्। २२ पाटन, त्रिवेणी र खेतीबेती बडीमालिकाका मुख्य आकर्षण हुन्। 

करिब १४ हजार फिट उचाइमा रहेका समथर हरिया फाँट र ती फाँटमा फुलेका दर्जनौँ प्रजातिका फूलको रमणीयताले यहाँको सुन्दर पक्ष रहेको बडिमालिका नगरपालिका–९ का दिर्घराज पाध्याय बताउँछन्। 

यसरी पुगिन्छ बडीमालिका

बडीमालिकाको सौन्दर्य नियाल्न भने त्यति सजिलो भने छैन। धनगढीबाट बसको यात्रा गर्नुपर्छ। दोस्रो दिन बाजुराको बार्जुगाड, टिपाडा र मार्तडी पुगेर बास बस्नुपर्छ।  तेस्रो दिन त्रिवेणी नगरपालिकाको कैलाशमाण्डौंबाट जानेहरु मोतिपानी भन्ने स्थान, टिपाडाबाट गएमा भिताचिर्ने पुगिन्छ। चौथो दिन विभिन्न ठाउँको बाटो हुँदै गएका तीर्थयात्री त्रिवेणी पुग्ने गर्छन्। पाँचौं दिन बडीमालिका मन्दिरमा आरोहण गर्न सकिन्छ। 

बडीमालिका यात्राका लागि धेरै ठूल–ठूला पहाड तथा हिमाल चढेर जानु पर्दछ। उचाइमा भएका कारणले तीर्थयात्री तथा पर्यटकको यात्रा कठिन हुनेगर्छ।  कठिन यात्रा भएपनि रोमाञ्चक बन्ने गर्छ। जनैपूर्णिमा मेलामा अस्थायी पसलहरु हुन्छ। त्रिवेणी मन्दिरमा रहेको गंगा जमुना मन्दिरमा नुहाएर बडीमालिकाको दर्शन गर्ने परम्परा छ। मन्दिर दर्शन गरेर आठ घण्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास छ।