सुदूरपश्चिममा कोरोना परीक्षण गर्न नयाँ मापदण्ड तोकेपछि समुदायमा त्रास
2020/06/12, 4:38
 
korona

सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले आरडीटी परीक्षण गर्न नयाँ मापदण्ड तोके पछि समुदायमा त्रास फैलिएको छ । बिहीबार मात्रै सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले क्वारेन्टिनमा बसेको १४ दिन भइसकेका तर कोरोनाको कुनै लक्षण नदेखिएकालाई जाँच नगरी घर फर्काउने मापदण्ड बनाएको छ । क्वारेन्टिनमा बसेकाहरूका लागि बिहीबार जारी जाँच तथा व्यवस्थापन सम्बन्धी निर्देशनमा प्रदेशमा क्वारेन्टिनमा बस्नेहरूको संख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट्स उपलब्ध नभएको हुँदा मापदण्ड जारी भएको जनाइएको छ ।

निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा जारी परिपत्रमा क्वारेन्टिनमा बस्नेको संख्या बढिरहेको र हाल रहेकाहरुको पनि परीक्षणका लागि आवश्यक किट नभएकाले होम क्वारेन्टिन र होम आइसोलेसनमा बस्न जोड दिइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौं, सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेन्टिनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब संकलन गरी पीसीआर जाँचको नतिजा नआउञ्जेल होम आइसोलेसनको मापदण्डअनुसार घरकै आइसोलेसनमा पठाउने र होम क्वारेन्टिन तथा आइसोलेसनमा रहँदा कोरोनाको लक्षण देखापरेमा स्थानीय तहले निर्माण गरेका आइसोलेसनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।

निर्देशक अवस्थीले क्वारेन्टाईनमा राखिएकाहरुको संख्या बढेकाले सबैसंग छलफल गरेर नयाँ मापदण्ड ल्याएको बताउदै आएका छन् । परीक्षण नै नगरेर घर जान स्वयम् क्वारेन्टाईनमा रहेकाहरु राजी छैनन् । एउटै क्वारेन्टाईनमा धेरै मान्छे बसेका छौं । धनगढी वडा नं १७ कालिका आधारभूत विद्यालयमा क्वारेन्टाईन बसेका एक ब्यक्तीले भने, मलाई आरडिटी पोजेटिभ देखिएको छ म कसरी घर जाउँ । घरमा जाँदा परिवारका ब्यक्ती र टोल नै जोखिममा पर्ने उनले बताए । आरडिटी पोजेटिभ देखिएका र नदेखिएकालाई घर पठाउने निर्देशनालयको निर्णय राम्रो भएन कैलालीको चुरे गाउँपालिकाका स्थानीय चन्द्र सिंहले भने, यसले थप महामारी फैलिने पक्का छ ।