धनगढीका डम्बरको कोरिया पुगेपछि जुर्मुराएको कृषि सपना
2021/08/24, 3:10
 
dd

सानैमा माटोसँग लडीबुडी गर्न खुब रमाउँथे डम्मर धामी। गाउँघरको जिन्दगीमा माटोसँग नखेली दिन काट्न सकिन्न। ठूलो हुँदै गएपछि उनले खेतीपातीमा आमाबुवालाई सघाउनुपर्‍यो। उनलाई रमाइलै लाग्थ्यो। उनले सानैदेखि ठूलो भएपछि झन् धेरै खेतीपाती गर्ने सपना देखेका थिए।

धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका ३५ वर्षीय डम्मरको पुर्खौली घर बैतडीको सिगास गाउँपालिका हो। एसएलसी दिएपछि उनी क्याम्पस पढ्न २०५८ मा धनगढी झरेका थिए। कैलाली बहुमुखी क्याम्पस भर्ना भए। कोठा भाडामा लिएर पढ्न थालेको दुई वर्षपछि जमिन जोरजाम गरेर उनका दाइले धनगढीको कैलाली गाउँमा घर बनाए। पछि उनी पनि दाइहरूसँगै बसेर पढ्न थाले।

स्नातक तहसम्म लगातार पढे। त्यसपछि भने उनले धनगढीमै रहेको एउटा कम्पनीमा काम गरे। त्यहाँ उनले सुरूमा २५ सयमा रूपैयाँ तलबमा काम गरेका थिए। त्यही कम्पनीमा उनले तीन वर्ष बिताए। कम्पनीको काम छुटेपछि उनले पाँच जना साथीसँग मिलेर गाउँमै बोर्डिङ स्कुल खोले। उनको बोर्डिङमा नर्सरीदेखि पाँच कक्षासम्म पढाइ हुन्थ्यो। उनी आफैं बोर्डिङ सञ्चालक थिए, विद्यार्थीलाई पढाउँथे पनि।

डम्मरले बोर्डिङ चलाउँदै, मास्टर पढेर भ्याए। स्कुललाई ८ कक्षासम्म पुर्‍याएपछि भने लगानी थप्न नसकेर बेच्नु परेको उनले सुनाए। उनी शिक्षक सेवा आयोगको तयारी गर्न काठमाडौं गए। २०६९ सालको शिक्षक सेवा आयोगको मावि तहमा उनले दार्चुलाबाट फर्म भरेका  थिए।

लिखित परीक्षामा उनी पास पनि भए। मौखिकमा भने नाम निस्किएन। एक पटक असफल भए पनि पछि सफल हुने आशामा उनी आयोगको तयारी गरिरहे। यसबेलासम्म उनले कृषिमा केही गर्ने सपना भुलिसकेका थिए। आक्कलझुक्कल सम्झिए पनि माटोले आफ्नो काँधको जिम्मेवारी धान्न सक्दैन कि भन्ठाने। यस्तो धेरै युवाहरूले ठान्छन्। एकदिन उनी काठमाडौंको बजारमा घुम्दै थिए। त्यहाँ उनले एक इन्टिच्युटमा कोरिया भाषा सिकेर नाम निकाले नि:शुल्क कोरिया जान पाइन्छ भन्ने लेखेको देखे।

‘होडिङ बोर्ड देखेपछि एकचोटि तयारी गरौं, कस्तो हुन्छ भनेर सोचें, राम्रै भयो, भाषा सिकेपछि कोरिया जान सरकारी कोटामा नाम पनि निस्कियो,’ उनले भने। जहाज भाडा खर्च जुटाएर उनी कोरिया गए। उनले त्यहाँ एक कम्पनीमा काम गरे। कम्पनीको काम गर्दा कहिलेकाहीँ गाउँतिर जानुपर्थ्यो। पहिलो पटक जाँदै उनले त्यहाँका मानिसले खेतीपाती गरेको देखे। 'कोरियाका किसानले गरेको कृषि देखें, मलाई त निकै लोभ लाग्यो,' उनले भने,'मैले आफ्नो घर-गाउँ सम्झिएँ। नेपालका गाउँ र कोरियाका गाउँमा के फरक थियो र? अँ एउटा फरक थियो, त्यहाँका मानिसहरू खुब रमाएर खेतीपाती गर्थे। आफ्नै खेतमा सपना देख्थे। मेहनत गर्थे।'

कोरियाका किसानलाई देखेपछि भने उनलाई आफ्नै घर कहिले जाऊँ  र यस्तै गरौं भन्ने लाग्न थाल्यो। सानैदेखिको रहर जो थियो। उनलाई सजिलो र स्वच्छ पेसा कृषि लाग्यो। उनी दिनप्रतिदिन कोरियाको कृषि देखेर प्रभावित हुन थाले। कम्पनीमा उनले कहिलेकाहीँ १८ घन्टा पनि काम गर्नुपर्थ्यो। भ्याएको समयमा उनी त्यहाँका किसानसँग कृषिबारे जानकारी लिन्थे।

त्यसबीचमा उनले घर फर्केर त्यहाँको किसानले गरेकोजस्तै कृषि गर्ने योजना बनाइसकेका थिए। नभन्दै उनको घर फर्किने दिन आयो। पाँच वर्ष त्यहाँ काम गरेपछि उनी गत वर्ष लकडाउन हुनुभन्दा केहीदिन अघिमात्रै स्वदेश फर्किएका थिए। उनको भिसाको पाँच वर्ष म्याद थियो। कोरिया नफर्किने गरेर आएकाले उनले पुन: स्वदेश जान भिसामा साइन गरेनन्। आफ्नै देश आफ्नै ठाउँ आफ्नै घरगाउँमा कृषि गर्ने सोच बनाएकोले उनले फेरि कोरिया जाने तयारी नगरेको सुनाए।

‘म मध्यम वर्गीय परिवारको मान्छे, कोरियामा काम गरेपछि अलिअलि पैसा कमाएँ, दाइहरूको घरमा बस्ने गर्थें, धनगढीमा आफ्नै जग्गा, घर बनाएँ। परिवारलाई पहाडबाट धनगढीमा ल्याएँ, महत्वपूर्ण कुरा कृषिमा काम गर्ने गरेर योजना पनि ल्याएँ,' उनले भने। उनी घर फर्केको केहीदिनमै कोरोनाभाइरसको महामारीले देशमा लकडाउन भयो। कामको शिलशिलामा उनीजस्तै विदेश तथा भारत गएका लाखौं कामदार घर आए। डम्मरले घर आएको १० दिनमै आफ्नो कृषि योजना सुरू गर्न लागे। अधिकांश मानिस लकडाउनमा काम छैन भनेर घरमा बसिरहेका बेला उनी भने व्यस्त हुन थाले।

विदेशमा कमाएको पैसा उनीसँग थियो। उनले फटाफट कुखुरा र टर्की पालन व्यवसाय गर्ने तयारी गरे। फर्म दर्ता गराए। त्यसपछि घरनजिकै कैलाली गाउँमै १५ वर्षका लागि वार्षिक ४५ हजार दिने गरी १४ कठ्ठा जग्गा भाडामा लिए। ‘लकडाउनमा बाहिरबाट कामदार पनि घर फर्केका थिए। उनीहरूमध्येकै गाउँका २५ जनालाई फर्म बनाउने काममा लगाएँ, त्यस अवधिमा तीन वटा फर्म निर्माण भए,’ डम्मरले सुनाए। गत वर्ष वैशाखभित्र उनले सबै तयारी पूरा गरे। साउन महिनामा उनले फर्ममा टर्की, कुखुरा राखे।

‘सुरू गरेपछि कृषिमा निरन्तरता धैर्यता चाहिन्छ। आफ्नो भिजनलाई स्थापित मात्रै गरेको हुँ, लकडाउनमा व्यवसाय सुरू गरेकोले यो मान्छेले बालुवामा पानी खन्याएजस्तै गर्‍यो, यत्रो पैसा खेर फाल्यो भन्थे,’ उनले भने। उनले ३५ लाख लगानीमा काम सुरू गरेका थिए। अहिले लगानी ४० लाख पुगेको छ। प्रदेश सरकारले विदेशबाट फर्केर कृषिमा केही गर्नेका लागि कृषि कार्यक्रम ल्याएको थियो।

व्यवसाय सञ्चालन गर्न सहज होला ठानेर उनले त्यो कार्यक्रममा पनि निवेदन दिएका थिए। छनोट पनि भए। तर २० हजार रूपैयाँमात्र पाउने भए। ‘मसँग पुँजी छँदै थियो, पाए पनि ठूलो लगानी पाउँछु कि सोचेको थिएँ, २० हजार दिने भनेपछि मैले रकम लिइनँ किनभने मेरो लाखौंको व्यवसाय थियो २० हजारले केही हुनेवाला थिएन, त्यो रकम सानो लगानीबाट केही गर्न चाहनेले नै पाओस् भनेर मैले छोडिदिएँ,' उनले भने, 'फेरि त्यो रकम पाउन पनि लामो प्रक्रिया पूरा गर्नु पर्ने रहेछ।’

उनको फर्ममा अहिले टर्की डेढदेखि २ सय र २ हजार लोकल कुखुरा छन्। फर्ममा उनी र ४ जना अरू कामदार छन्।डेढ वर्षपछि डम्मरले गरेको लगानीबाट आम्दानी हुन थालेको छ। धनगढीलगायत प्रदेशका अन्य जिल्लाबाट माग आउने गरेको छ। प्राय: अहिले बढी माग चल्लाको आउने गर्छ। ‘सानो बजार भएकोले बजारीकरणको समस्या छ। प्रतिस्पर्धात्मक छ। अरूभन्दा केही सस्तो गरेर भए पनि बजारलाई बढाउने सोच छ। तत्काल  लगानी उठेको छैन विस्तारै गर्दै जाने हो र मैले यहीबाट भविष्य पनि राम्रो देखेको छु,' उनले भने।

उनले सुरूमा वार्षिक ७ लाख आम्दानी जति भएको बताए। अरूलाई रोजगारी दिने र आफू पनि रोजगार बन्ने उद्देश्य उनको छ। स्वदेशमा रहेर अरूले पनि आफ्नोजस्तै केही गरून् भन्ने उनी चाहन्छन्। ‘सबैले कुखुरा नै पाल्नुपर्छ भन्ने हुँदैन, कृषिमा थुप्रै काम गर्न सकिन्छ। तरकारी खेती गरे हुन्छ, फलफूल खेती गरे हुन्छ, अरू अन्नबाली लगाए हुन्छ। स्वदेशमा धेरै उत्पादन भए बाहिर पठाउन सकिन्छ,' उनले भने। विदेशमा पैसा भए पनि इज्जत नहुने उनको अनुभव छ। लाखौं लगानी गरेर विदेश जानुभन्दा स्वदेशमा ५० हजारबाटै पनि केही गर्न सकिने उनको भनाइ छ।

राज्यले पनि कृषिमा केही गर्न चाहने युवालाई प्राथमितामा राखेर अनुदान र ऋणमा सहयोग पुर्‍याउनुपर्ने उनको सुझाव छ। ‘युवाहरू रहरले होइन बाध्यताले विदेशिएका छन्, राज्यले सहज प्रक्रियामा अनुदान र ऋण दिए धेरै युवाले घर छोड्दैनन्। कयौंले ऐलानी जग्गा भएकाले केही गर्न चाहे पनि ऋण पाउँदैनन्, अनुदान पाउँदैनन्, त्यस्तालाई छुट्टै व्यवस्था गरेर सहयोग गर्नुपर्छ,’ उनले भने।

डम्मर आफूले सुरू गरेको व्यवसाय निरन्तरता दिने अठोटमा छन्। अहिले फर्ममा कुखुराको खोर सफा गर्ने, अण्डा निकाल्ने, अरूलाई काम सिकाउने, कुखुरा राख्ने, निकाल्ने, बजारमा विक्री गर्ने काम गर्दै उनको दैनिकी बित्ने गर्छ। उनलाई कतिले मास्टर सक्नुभएको छ, क्याम्पसतिर पढाउन जानुहोस् भन्छन्। उनीहरूको मतलब हुन्छ अलि इज्जतिलो काम गर्नुहोस्। उनलाई भने कृषि काम निकै इज्जतिलो लाग्छ। उसो त उनले कामलाई सानो ठूलो ठान्दैनन्। उनको व्यवसाय देखेपछि कतिपयले भन्ने गरेका छन्- ए यस्तो काम गरे पनि राम्रो हुने रै छ त!